बारामा प्रहरी कार्यालय सहयोगीको हत्या प्रकरणमा अनुसन्धान अधिकृतसहित तीन जना पक्राउ

बारा,१४ पुस । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृतसहित तीन जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, बाराले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–३ निवासी र राष्ट्रिय अनुसन्धान विभाग बारा दरबन्दीमा कार्यरत श्रीकान्त तिवारी, जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक पुरुषोत्तम कुमार दास, र सोही वडाका ईन्द्रजित कुमार चौहान रहेका छन्।

गत पुस ६ गते बकुलिया-रमौली लोसन्डा सडक खण्डमा रुम्बाको शव कारभित्र फेला परेको थियो। पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा गोली हानी हत्या गरिएको पुष्टि भएको थियो।

प्रहरीले अनुसन्धानको क्रममा दासको वर्कसपबाट रुम्बाको सुनको सिक्री र पर्स बरामद गरेको छ। साथै, उनीहरूको साथबाट ६ थान मोबाइल र एक मोटरसाइकल पनि बरामद भएको छ। प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबी र लुटपाटका कारण हत्या गरिएको खुलेको छ।

प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

 

ताजा समाचार

Related Articles