पर्सा, १४ पुस । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा आयोजित भव्य कार्यक्रममार्फत करिब ५ हजार नेता तथा कार्यकर्ताले नेकपा (एमाले) मा प्रवेश गरेका छन्। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
एमाले पर्सा जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रम सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित औराहा पञ्चगावामा सम्पन्न भएको थियो। यस अवसरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व नेता तथा सखुवा प्रसौनीका पूर्वअध्यक्ष प्रदीप जयसवालसहित धेरैजसो नेता तथा कार्यकर्ता एमालेमा सामेल भए। नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्र र नेपाली कांग्रेसबाट समेत थुप्रै व्यक्तिहरूले एमालेमा प्रवेश गरेका छन्।
कार्यक्रममा पर्सावासीको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरे। मन्त्री गुप्ताले पर्साको विकास र समृद्धिको निम्ति ओलीको नेतृत्वमा एमालेले खेलेको भूमिकाको प्रशंसा गरे।
सो कार्यक्रममा एमालेका मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठ, नेताहरू पुरुषोत्तम पौडेल, हरि उप्रेती, प्रभु हजारा, सुमनराज प्याकुरेल, ज्वालाकुमारी साह, तथा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज यादव र खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालसमेत सहभागी थिए।
कार्यक्रमले एमालेको संगठन विस्तार र मधेशमा पार्टीको प्रभावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

