जनकपुर बोल्ट्सका खेलाडीलाई रौतहटमा भव्य स्वागत

गौर, १४ पुस । काठमाडौंमा सम्पन्न पहिलो नेपाली प्रिमियर लिग (एनपीएल) विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई रौतहटको सदरमुकाम गौरमा भव्य स्वागत गरिएको छ ।
गौर नगरपालिकाका मेयर शम्भु साहको नेतृत्वमा आयोजित कार्यक्रममा बोल्ट्सका खेलाडीहरूलाई फूलमालासहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो । मेयर साहले बोल्ट्सको ऐतिहासिक जितले मधेश प्रदेशलाई गौरव प्रदान गरेको भन्दै आगामी दिनमा खेलकुदको विकास र प्रोत्साहनका लागि आफ्नो सक्रिय योगदान रहने प्रतिबद्धता जनाए ।
जनकपुर बोल्ट्सको व्यवस्थापन टोलीले एनपीएलको ट्रफीसहित मधेश प्रदेशका आठै जिल्लामा सम्मान कार्यक्रम आयोजना गर्ने योजना अनुसार गौर आइपुगेका थिए । आइतवार बिहान गौरमा पुग्दा खेलाडीहरुलाई स्थानीय संघ–संस्थाले विशेष झाँकी प्रदर्शन गर्दै गौर राइस मिल्समा स्वागत गरेका थिए ।
कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, नगरवासी, खेलप्रेमी, संघका पदाधिकारीसहित सयौं सर्वसाधारणहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ट्सका खेलाडीहरूको सफलतालाई क्षेत्रीय खेलकुदको उन्नतिका लागि प्रेरणादायी कदमका रूपमा लिइएको बताइएको छ ।
गौरको यो स्वागत कार्यक्रमले खेलाडी र खेलप्रेमीबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ भने मधेश प्रदेशको खेलकुद विकासका लागि नयाँ सम्भावना सिर्जना गरेको छ ।

ताजा समाचार

Related Articles