चन्द्रपुर,१४ पुस । पछिल्लो समय अण्डाको मूल्यमा आएको लगातार वृद्धि उपभोक्ताहरूका लागि गम्भीर चुनौती बनेको छ । जाडोको मौसममा प्रोटिनयुक्त भोजनका रूपमा अण्डाको महत्त्व झनै बढ्छ । तर, लगातारको मूल्य वृद्धिले आम उपभोक्ताको पहुँचबाट यो आवश्यक पोषण स्रोत टाढिँदै गएको छ ।
दुई दिनअघिसम्म १६ रुपैयाँ ५६ पैसामा उपलब्ध अण्डाको मूल्य आज २२ रुपैयाँ ५५ पैसामा पुगेको छ । यो एकैचोटि ३० प्रतिशतभन्दा बढीको वृद्धिले उपभोक्तामाथि ठूलो आर्थिक भार थपेको छ । विशेषतः मध्यम तथा निम्न आयस्तरका परिवारका लागि यस्तो मूल्य वृद्धि असहज र अस्वीकार्य छ ।
मूल्य वृद्धिको कारणमा उत्पादन लागत, कच्चा पदार्थको अभाव, ढुवानी खर्च, र बजारमा माग तथा आपूर्तिको असन्तुलनलाई प्रमुख ठानिन्छ। तर, यो अवस्था व्यवस्थापन गर्न सम्बद्ध निकायको भूमिकामा प्रश्न उठ्नु स्वाभाविक छ । अण्डा उत्पादन र वितरण गर्ने व्यवसायीहरूले समेत यस्तो अस्थिर मूल्य वृद्धिबाट लामो समयसम्म टिक्न कठिनाइ हुने बताएका छन् । यस परिस्थितिमा, राज्यले उपभोक्ताहरूका हितका लागि कदम चाल्न जरुरी छ। मूल्य नियमन गर्ने निकायहरूले वास्तविक बजार अनुगमन र हस्तक्षेपको आवश्यकता छ । अण्डाको उत्पादनमा निर्भर किसान र व्यवसायीलाई प्रोत्साहन दिन सकिने योजना कार्यान्वयन गर्नुपर्छ । साथै, बजारमा बिचौलिया नियन्त्रण गर्न कडा नीतिहरू लागू गर्न आवश्यक छ । अर्कोतर्फ, उपभोक्ताहरूले पनि वैकल्पिक उपायहरू खोज्नुपर्ने हुन्छ । घरमै साना कुखुरा पालन गर्न सक्ने अवस्थामा भएका परिवारले उत्पादनलाई प्रवद्र्धन गर्न सक्नेछन्। यस्तै, अण्डाको उपभोगलाई आवश्यकता अनुसार व्यवस्थित गरी अन्य पोषण स्रोततर्फ ध्यान दिन पनि सकिन्छ ।
अण्डाको मूल्य वृद्धि केवल उपभोक्ताका लागि मात्र होइन, सम्पूर्ण अर्थतन्त्रका लागि दीर्घकालीन समस्या हुन सक्छ । यो अवस्थाले बजारमा अस्थिरता, आपूर्ति शृंखलामा अवरोध, र उपभोक्ताको क्रयशक्तिमा कमी ल्याउन सक्छ। तसर्थ, राज्य, व्यवसायी, र उपभोक्ताबीच समन्वय कायम गरी दीर्घकालीन समाधान खोज्न आवश्यक छ ।
जसरी अण्डा दैनन्दिन जीवनको अभिन्न हिस्सा हो, त्यसरी नै यसको मूल्य स्थिर र उपभोक्ताले पहुँच गर्न सक्ने बनाउन सबै पक्षको भूमिका महत्त्वपूर्ण छ । उपभोक्ताको विश्वास र संतोष कायम गर्न यस्तो समस्या चाँडो समाधान गरिनुपर्छ ।

