उपेन्द्र गोले तामाङ
रौतहट ९ पुस
रौतहटको कटहरिया नगरपालिकामा पुन तालाबन्दि गरेका छन । रौतहटको कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जयसवालले नगरपालिकाको करौडौ रकम अनियमितता गर्न पुन खेल शुरु गरेको भन्दै असन्तुष्ट जनप्रतिनिधिहरुले मंगलबार पुन तालाबन्दि गरेका हुन । कटहरिया नगरपालिकामा हाल विवादको घेरामा परेको छ । नगर उपप्रमुख रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले मंगलबार दिउँसो कर्मचारीलाई बाहिर निकालेर तालाबन्दी गरेको उपप्रमुख रिता देवी यादवले तराई पोष्टलाई जानकारी दिनु भयो । तालाबन्दि गर्न गएका जनप्रतिनिधिहरुले नगर प्रमुख , प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसंगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेको बताएका छन । नगर प्रमुख अजय प्रकाश जयसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने खेलमा रहेको भन्दै उनीहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन । नगर प्रमुख जयसवालको निर्देशनमा गत मंसिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो । बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन । सो दिनको बैठकमा प्रस्तावित विषयमा सहमति नभएपछि जयसवालकै निर्देशनमा पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गरेको तर उक्त बैठक पनि स्थगित भएको उपप्रमुख रिता देवी यादवले बताउनु भयो । नगर प्रमुख जयसवालको इशारामा गत मंसिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यहरुसँग हस्ताक्षर गराउने खेल भईरहेको उपप्रमुख यादवले आरोप लगाउनु भएको छ । उपप्रमुख जयसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरु सदर गराउन कार्यालय सहयोगी मार्फत कार्यपालिका सदस्यहरुको घर घरमा राति–राति लागेर हस्ताक्षर गराइरहेको मंगलबार तालाबन्दिपछि उपप्रमुख यादवले प्रतिक्रिया दिएका छन । सो निर्णय पुस्तिकामा हस्ताक्षर गराउन नगरप्रमुख जयसवालले कार्यपालिका सदस्यहरुलाई बिभिन्न प्रलोभन देखाइरहेको कटहरिया नगरपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताको दावी रहेको छ । कटहरिया नगरपालिकाको ९ वटै वडामा झण्डै ५० जना कर्मचारी करारमा खटिरहेका थिए । उक्त करारका कर्मचारीहरुले २० महिनासम्मको तलब नपाएको तर नगरप्रमुख जयसवाल उनीहरुलाई तलब खुवाउनुको सट्टा केहीदिन अघि बिना सरसल्लाह एकैपटक सबैलाई बर्खास्त गरी ठूलो अन्याय गरेको जनप्रतिनिधिहरुको गुनासो रहेको छ । गत मंसिर २० गतेको बैठकमा कुनै निर्णय नभएको र सोही निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर नभएसम्म तालाबन्दी यथावत रहने तालाबन्दिमा सहभागी जनप्रतिनिधिहरुले अडान राखेका छन । सबै करारका कर्मचारीको तलब भुक्तानी दिएपछि मात्र अर्को कर्मचारी भर्नाको सूचना प्रकाशन गर्नुपर्ने समेत उनीहरुले माग गरेका छन । मंगलबार नगर उपप्रमुख रिता देवी यादवको नेतृत्वमा तालाबन्दी गर्ने टोलीमा कटहरिया नगरपासलिकाको वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो,२ का वडा अध्यक्ष हरेन्द्र साह,४ का वडा अध्यक्ष चन्दन कुशवाहा,५ का सर्फलाल गुप्ता,६ का जयराम चौधरी,७ का महमदसहित वडा सदस्य रामेश्वर यादव लगायतले सहभागिता जनाएका थिए ।