महोत्तरी, ६ पुस । महोत्तरीको मनरा शिसवा नगरपालिका–४ मा शनिवार बिहान लुटेरा समूहले आक्रमण गरी ७० वर्षीय पूर्व गाविस सचिव सुशील झाको हत्या गरेको छ।
प्रहरीका अनुसार करिब ३ बजे ७/८ जनाको समूहमा आएका लुटेराहरुले झाको घरमा प्रवेश गरी आक्रमण गरेका थिए। घटनामा झाको हत्या हुनुका साथै घरबाट करिब ८० हजार रुपैयाँ नगद र सुनका केही गहना लुटिएको छ।
महोत्तरी प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारका अनुसार लुटेराहरुले सुनका औंठी र मङ्गलसूत्र पनि लगेको पुष्टि भएको छ। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान जारी रहेको उनले बताएका छन्।
झाको शव हाल घटनास्थलमै राखिएको छ भने घटनाले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।