एनपीएलको फाइनलकै दिन गौर क्षेत्रमा लाइन काट्ने सूचनाको विरोधपछि निर्णय फिर्ता

  रुपेन्द्र पटेल
गौर, ६ पुस । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरले एनपीएल (नेपाल प्रीमियर लिग) को फाइनल खेल हुने दिन लाइन काट्ने सूचना जारी गरेपछि स्थानीय तहमा चर्को विरोध भएपछि निर्णय फिर्ता लिएको छ।

प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको सूचनामा ३३/११ के.भी. गौर सवस्टेशनमा मर्मत कार्य हुने कारणले शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म गौर सवस्टेशन अन्तर्गतका बैरिया, बहुअर्वा, बंकुल, पुरेन्वा, र गौर फिडरको विद्युत आपूर्ति बन्द रहने जानकारी गराइएको थियो। यस निर्णयले स्थानीय उपभोक्ताहरूलाई असुविधा पुर्‍याउन सक्ने भएकाले क्षमायाचना गर्दै मर्मत कार्य समय अगावै सम्पन्न भएमा लाइन छिटो सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

तर, एनपीएलको बहुप्रतिक्षित फाइनल खेलकै दिन विद्युत आपूर्ति बन्द गरिने जानकारी पाएपछि स्थानीय तह र सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। विशेषगरी, पत्रकार गौतम श्रेष्ठ, सञ्जय सहनी र धर्मेन्द्र साहले यस विषयलाई सामाजिक सञ्जालमा उठाएपछि प्राधिकरणमाथि चर्को दबाब सिर्जना भएको थियो।

स्थानीयवासी र खेलप्रेमीहरूको तीव्र आलोचना, तथा कर्मचारीमाथि कारबाहीको मागपछि नेपाल विद्युत प्राधिकरणले आफ्नो निर्णय सच्याउँदै लाइन नकाट्ने घोषणा गरेको छ। प्राधिकरणले फेसबुकमार्फत सूचना प्रकाशित गर्दै अब कुनै पनि फिडरको विद्युत सेवा अवरुद्ध नगर्ने स्पष्ट पारेको छ।

यस घटनाले एनपीएलको महत्त्वलाई दर्शाउँदै खेलप्रेमीहरूको चाहनालाई प्राथमिकतामा राख्ने आवश्यकतालाई पनि उजागर गरेको छ। प्राधिकरणको निर्णयले स्थानीय उपभोक्ताहरूलाई राहत प्रदान गरेको छ भने चाँडै नै मर्मत कार्यको लागि अर्को समय निर्धारण गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

Related Articles