चन्द्रपुरमा लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन

चन्द्रपुर,२ पुस । रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको क्षेत्रमा लागुऔषध कारोबार नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको नेतृत्वमा यो अभियान प्रारम्भ गरिएको हो ।
अभियानको पहिलो चरणमा चन्द्रपुर नगर क्षेत्रभित्रका औषधि पसल, क्लिनिक, र अस्पतालका संचालकहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा डिएसपी राईले शान्ति सुरक्षासम्बन्धी सुझाव संकलन गर्दै लागुऔषधसम्बन्धी कानूनी प्रावधानबारे जानकारी दिए। उनले व्यवसाय सञ्चालनका क्रममा लागू मापदण्ड पालना गर्न र प्रतिबन्धित औषधिको बिक्री वितरण नगर्न आग्रह गरे ।
यस आर्थिक वर्षमा ईलाका प्रहरी कार्यालयले पाँच जनालाई लागुऔषधसहित नियन्त्रणमा लिई कानूनी कारबाही अघि बढाएको छ। यस अवधिमा २६ किलो ५६० ग्राम गाँजा, ४८ एम्पुल दाईजिपाम, ४८ एम्पुल फेनारगन, र ४८ एम्पुल बुप्रेनर्फिन जस्ता नशालु पदार्थ बरामद गरिएको डिएसपी राईले जानकारी दिए ।
लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएपछि सुधारका लागि प्रहरीले चार जनालाई सुधारगृह पठाएको छ भने २५ जनालाई पहिलो पटक चेतावनी दिँदै अभिभावकको जिम्मा लगाएको छ । यो प्रयासले नगर क्षेत्रभित्र लागुऔषध कारोबार र दुरुपयोगलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

Related Articles