रौतहटमा स्कर्पियो दुर्घटना, चालकसहित ८ जनाको मृत्यु, चार घाइते

रुपेन्द्र पटेल
रौतहट,२५ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो गाडी दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ भने दुई बालबालिकासहित चार जना घाइते भएका छन् ।
बाराको गढीमाई मन्दिर दर्शन गरेर सिराहा फर्कँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल खसेर रुखमा ठोक्किँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार, घाइतेहरूलाई उद्धार गरी चन्द्रनिगाहपुरस्थित ट्रमा सेन्टर पुर्‍याइएको छ । एक गम्भीर घाइतेलाई थप उपचारका लागि वीरगन्ज रेफर गरिएको छ ।
मृतकमध्ये सिराहाको अर्नमा गाउँपालिका–३ की ६० वर्षीया फुलमन्ति राम र गाडी चालकको पहिचान खुलेको छ। अन्य मृतकहरूको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार घाइतेहरू बोल्न नसक्ने अवस्थामा भएकाले सनाखतमा समस्या भएको हो ।
दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीको टोलीले उद्धार कार्य गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरले जनाएको छ ।

ताजा समाचार

Related Articles