काठमाडौं,२० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
पहिलो खेल: पोखरा पहिलो जितको खोजीमा, जनकपुर अपराजित
त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा पोखरा एभेन्जर्स आफ्नो पहिलो जितको खोजीमा हुनेछ। कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखराले अघिल्लो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजय भोगेको थियो। अक्सनमा ठूला खेलाडी अनुबन्ध गरे पनि टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन।
यता, जनकपुर बोल्ट्स भने लगातार तेस्रो जितको खोजीमा छ। राष्ट्रिय टोलीका सफल पूर्व प्रशिक्षक पुवुदु दासानायकेको प्रशिक्षण र अनिल साहको कप्तानीमा रहेको जनकपुर बलियो प्रदर्शन गर्दै आएको छ। अघिल्लो दुई खेलमा विराटनगर सुपर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुर लिगकै बलियो टोलीका रूपमा उदाएको छ।
दोस्रो खेल: काठमाडौंको पुनरागमन बनाम सुदूरपश्चिमको आत्मविश्वास
दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। पहिलो खेलमा चितवनसँग हार व्यहोरे पनि दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै काठमाडौंले पुनरागमन गरेको थियो।
तर, सुदूरपश्चिम रोयल्सले पनि आफ्नो पहिलो खेलमा विराटनगरलाई हराउँदै सशक्त सुरुवात गरिसकेको छ। घरेलु खेलाडीहरूको बलियो प्रदर्शनको भरमा टोलीले राम्रो लय बनाएको छ।
आजका यी दुवै खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ, जसले लिग तालिकामा महत्वपूर्ण प्रभाव पार्न सक्छ।

