रुपेन्द्र पटेल
रौतहट, १० मंसिर । रौतहट क्षेत्र नं. ४ ‘क’ का प्रदेश सभा सदस्य एवं मधेश प्रदेशका पूर्व उद्योग तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर) ले सहकारी संस्थाहरुलाई अस्वस्थ प्रतिस्पर्धाबाट बच्न आग्रह गरेका छन् । उनले सहकारीको उद्देश्य र दायित्वलाई प्राथमिकतामा राख्दै आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । सोमबार रौतहटको चन्द्रनिगाहपुरस्थित नव विकास बचत तथा ऋण सहकारी संस्थाको १७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद भट्टराईले सहकारीहरुले नीति, विधि, र विधानअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले सहकारीको मर्म र उद्देश्यलाई बुझेर काम नगर्ने संस्थाहरुले जनताको बचत जोखिममा पारेको भन्दै त्यस्ता गतिविधिमा नियन्त्रण आवश्यक रहेको बताए । उनले भने, “एउटा सहकारीको ऋण नतिर्ने ऋणीलाई अर्को सहकारीले ऋण दिन बन्द गर्नुपर्ने समय आएको छ । सहकारी संस्थाहरुले एकरुपता देखाएर जनताको बचत सुरक्षित गर्नुपर्छ । अनियन्त्रित लगानीका कारण केही सहकारीहरु जोखिममा परेका छन्, तर सही तरिकाले सञ्चालन भएका सहकारीमा कुनै समस्या छैन ।” साथै, मधेश प्रदेशमा सहकारी ऐन निर्माणको चरणमा रहेको भन्दै उनले यस सम्बन्धमा सुझाव दिनसमेत आग्रह गरे ।
सोही कार्यक्रममा रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष बिभु कुमार पोखरेलले विधि र विधानअनुसार सञ्चालन भएका सहकारीहरु मात्र सुरक्षित रहेको स्पष्ट पारे । उनले भने, “सहकारीको मर्म र धर्म नबुझ्ने संचालकहरुका कारण जोखिम सिर्जना भएको हो । विधिसम्मत सहकारीहरुमा कुनै समस्या देखिँदैन ।
चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख शेख नसरे आलमले चन्द्रपुर क्षेत्रमा सहकारी संस्थाहरुको अवस्था उजागर गर्दै सहकारीको भावना विपरीत सञ्चालन भएका संस्थाहरु मात्र जोखिममा रहेको बताए । वडाध्यक्ष सहदेव केसीले सहकारीहरु नीतिगत दिशानिर्देशनअनुसार चल्नुपर्ने धारणा राखे ।
वन विकास बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा विभिन्न वक्ताहरुले शुभकामना व्यक्त गरे । कार्यक्रममा चन्द्रपुर नगरपालिका वड नम्बर ५ का वडा अध्यक्ष निलहरी कोइराला, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु प्रसाद उप्रेती, स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र राना, सफल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवकी नेपाल, चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष दुर्गा आचार्य, र अन्य सहकारी नेताहरुले पनि आ–आफ्नो धारणा राखेका थिए ।
सहकारी संस्थाको १७ औं स्थापना दिवसलाई विशेष बनाउँदै नव विकास बचत तथा ऋण सहकारी संस्थाले छात्रवृत्ति कोष स्थापना गरेको छ । संस्थाका सल्लाहकार दुर्गा प्रसाद चिमोरियाले ५० हजार र मुख्य व्यवस्थापक यज्ञ प्रसाईंले २० हजार योगदान दिने घोषणा गरेका छन् । कार्यक्रमले सहकारी क्षेत्रको सही सञ्चालन र नीतिगत मार्गदर्शनको आवश्यकता उजागर गरेको छ । सहकारीहरुले आपसी समन्वयमा काम गरी आर्थिक स्थायित्व र जनताको बचत सुरक्षित गर्नुपर्ने वक्ताहरुको धारणा थियो । कार्यक्रमको समापनमा नव विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र तिवारीले आगामी योजनाहरु सार्वजनिक गर्दै सहकारी क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताएको छ ।