रौतहट, १४ मंसिर । रौतहट जिल्लाको गौर नगरपालिकामा दुई पसलका ताल्चा फुटाई चोरी गर्दै गरेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजदेवी नगरपालिका–९ ब्रहमपुरीका १९ वर्षीय शिवजी मण्डल र १८ वर्षीय साहिल भन्ने निरज मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत बुधबार राति करिब १२:३० बजे गौर नगरपालिका–५ स्थित चौधरी मार्केटमा रहेको नवाब अलीको नेशनल मोबाइल एस्सेसरिज पसलबाट ताल्चा फुटाई १५ थान मोबाइल र अन्य इलेक्ट्रोनिक्स सामान चोरी गरिएको थियो । त्यसपछि राति करिब १:३० बजे गौर–५ स्थित बरहवा पुल नजिक जनकनन्दन पटेलको गौर इन्टरप्राइजेज नामक पसलमा ताल्चा फुटाई पसलभित्र प्रवेश गरी ४ वटा मोबाइल र अन्य सामान चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
चोरीको क्रममा स्थानीयवासीहरूले देखेपछि प्रहरी गस्ती टोलीलाई खबर गरिएको थियो । प्रहरी टोलीले उनीहरूलाई पसलभित्रै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका युवकहरूविरुद्ध नकबजनी चोरी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । यस घटनाले गौर क्षेत्रमा बढ्दो चोरीका घटनाप्रति स्थानीयवासीमा त्रास फैलाएको छ भने प्रहरी प्रशासनले चोरी नियन्त्रणमा थप कडाइ गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रहरीले पक्राउ परेका युवकहरूबाट चोरीमा प्रयोग भएका उपकरण र अन्य संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ । पक्राउ परेका युवकहरूको हर्कतले उनीहरू कुनै गिरोहको सदस्य हुन सक्ने आशंका गरिएको छ ।

