रौतहट, १० मंसिर । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ स्थित बलेरीको तामाङ बस्तीमा जङ्गली हात्तीले आतंक मचाएको छ। आइतबार राति करिब २ बजे दुईवटा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर स्थानीय किसान लघुराम ठोकरको धानको भकारीमा ठूलो क्षति पुर्याएका छन् । ठोकरले भर्खरै भकारीमा राखेका ८ कट्ठा खेतको धान हात्तीहरूले भत्काएर खाएका छन् ।
हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित हुँदै आफ्नो ज्यान जोगाउन भागाभाग गर्न बाध्य भएका थिए । राति ३ बजेतिर गाउँलेहरू जम्मा भई हात्तीलाई भगाए पनि ठूलो धनजनको क्षति हुन पुगेको छ। सौभाग्यवश मानवीय क्षति भने हुन पाएन ।
लघुराम ठोकरले आफ्नो परिवारको मुख्य आश्रय स्रोत नै धान भएको बताए। “यस धानको भरमा हाम्रो परिवारको जीविकोपार्जन चलिरहेको थियो। हात्तीले नष्ट गरिदिएपछि हाम्रो आर्थिक अवस्था निकै कमजोर बनेको छ,” उनले भने। ठोकरले यस क्षतिपूर्ति सरकारले ब्यहोर्नुपर्ने माग राखेका छन्।
स्थानीय बासिन्दाहरूले यस क्षेत्रलाई जङ्गली हात्तीको आतंकबाट जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। बलेरीका स्थानीयका अनुसार यो पहिलो पटक होइन, यसअघि पनि जङ्गली जनावरहरूले खेतीमा क्षति पुर्याउने गरेका छन् ।
यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न वन्यजन्तु नियन्त्रण, क्षतिपूर्ति व्यवस्थापन र जनचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ। स्थानीय तह र सरकारी निकायको समन्वयमा तत्काल कदम चालेर प्रभावित क्षेत्रका जनताको जीवन सहज बनाउन आवश्यक रहेको देखिन्छ।
गाउँलेहरूले यस घटनापछि जङ्गली जनावरको सुरक्षाका लागि पूर्वसावधानी र सरकारी सहयोगको आवश्यकता औंल्याएका छन्।

