नगरप्रमुख कुर्मी र उपमहासचिव भट्टराईद्वारा छठ व्रतालुहरुसँग भेटघाट

रौतहट, २२ कार्तिक । रौतहटको वृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोदप्रसाद कुर्मीले छठ पर्वको अवसरमा नगर क्षेत्रका सबै छठघाटको अवलोकन गरी व्रतालुहरूसँग आशीर्वाद लिएका छन् । नगरप्रमुख कुर्मीले वृन्दावन नगरपालिकाका ९ वटै वडामा निर्माण गरिएका छठघाटमा व्रतालुहरूसँग भेटघाट गर्दै उनीहरूलाई पर्वको शुभकामना दिए । उनले पर्वको पवित्रता र अनुशासनको प्रतीक छठलाई सबै जाति, धर्म र समुदायको एकता र सहिष्णुताको पर्वका रूपमा सम्बोधन गर्दै, स्थानीय श्रद्धालुहरूलाई आफ्नो तर्फबाट आशीर्वाद र शुभकामना आदानप्रदान गरेका हुन् ।
नगरप्रमुख कुर्मीसँगै नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव रामकुमार भट्टराई पनि वृन्दावनका विभिन्न छठघाटमा पुगेर पूजाअर्चना गरेका छन् । रौतहट क्षेत्र नम्बर ४ का पूर्व सांसदसमेत रहेका भट्टराईले क्षेत्र नम्बर ४ का सबैजसो छठघाटमा पुगेर स्थानीय व्रतालुहरूसँग पर्वको महत्त्वबारे विचार आदानप्रदान गर्दै श्रद्धालुहरूको मनोबल अभिवृद्धि गरेका छन् । छठ पर्वका लागि नगरपालिकाले विशेष तयारी गरेको थियो, जसमा घाटहरूको निर्माण, सरसफाइ, र सजावटमा नगरप्रमुखको विशेष ध्यान थियो । नगरपालिकाका जनप्रतिनिधिहरूले स्थानीय जनताको धार्मिक र सांस्कृतिक महत्त्वलाई प्राथमिकता दिँदै पर्वलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन पहल गरेको छ ।
छठघाटहरूमा स्थानीय प्रतिनिधिहरूको उपस्थिति र शुभकामनाले भक्तजनहरूमा थप उत्साह र उमंग छाएको छ । छठ पर्वको महत्वबारे स्थानीय नेता तथा प्रतिनिधिहरूले जनतालाई सन्देश दिनुका साथै श्रद्धालुहरूको समर्थनमा उभिने प्रतिबद्धता व्यक्त गरे । नगरप्रमुख कुर्मी र उपमहासचिव भट्टराईको सहभागिताले पर्वको गरिमा अझै बढाएको भन्दै स्थानीयहरूले प्रशंसा व्यक्त गरेका छन् । यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका नेता लक्ष्मन रेग्मी समेत छठ घाट अवलोकन गरेका छन् ।

ताजा समाचार

Related Articles