राैतहटमा निर्माणाधीन औरेया–टिकुलिया पुल समयमै सम्पन्न नहुँदा स्थानीयलाई सास्ती

रौतहट १८ साउन
लालबकैया सडकखण्ड अन्तर्गत लालबकैया नदीमाथि निर्माणाधीन औरेया–टिकुलिया पुल अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा स्थानीय बासिन्दाले सास्ती खेपिरहेका छन् ।  पुलको अधिकांश संरचना निर्माण भइसके पनि बीच भागमा अझै ढलान तथा फिनिसिङको काम बाँकी रहेको तस्वीरमा देखिन्छ। पुलको सतहमै फलामका रड, निर्माण सामग्री र बाँसको टेको यथावत् रहेकाले आवतजावत जोखिमपूर्ण बनेको छ। वर्षायामका कारण पुल क्षेत्रमा हिलो र पानी जमेको देखिएको छ, जसले निर्माण कार्यको गति समेत प्रभावित भएको स्थानीयको भनाइ छ।
निर्माण सम्पन्न नहुँदा गौर, औरेया, टिकुलिया तथा आसपासका बासिन्दा सुरक्षित र सहज आवागमनबाट अझै वञ्चित छन्। दैनिक कामकाज, व्यापार, शिक्षा तथा स्वास्थ्य सेवाका लागि आवतजावत गर्ने सर्वसाधारणले पुल चाँडो सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन् ।
स्थानीयका अनुसार पुल सञ्चालनमा आएपछि गौर–लालबकैया सडकखण्डको यात्रा सहज हुनुका साथै आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधिमा समेत उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले निर्माणको गुणस्तर कायम राख्दै बाँकी काम तीव्र गतिमा सम्पन्न गरी पुल यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निर्माण कम्पनी र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। पुल समयमै सम्पन्न भए यस क्षेत्रका हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

ताजा समाचार

Related Articles