रौतहट १८, साउन
रौतहट जिल्लाका विभिन्न स्थानीय तहमा पछिल्ला केही दिनयता अज्ञात जंगली जनावरले खसी, बाख्रा, कुखुरा लगायत चौपायामाथि लगातार आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। पशुचौपायामा भइरहेको क्षतिले किसान र पशुपालकहरू चिन्तित भएका छन् ।
यसैबीच, इशनाथ नगरपालिकामा उक्त जनावर देखिएको भन्दै सामाजिक सञ्जालमा त्यसलाई ‘हाइना’ भएको दाबी गरिए पनि सम्बन्धित निकायले हालसम्म यसको आधिकारिक पुष्टि गरेको छैन। सामाजिक सञ्जालमा विभिन्न अनुमान र दाबी भइरहेका भए पनि घटनाको यथार्थ पहिचान अझै हुन सकेको छैन । स्थानीयवासीले सम्बन्धित वन तथा वन्यजन्तु संरक्षण निकायलाई घटनास्थलमा पुगेर अध्ययन गरी उक्त जनावरको वास्तविक पहिचान सार्वजनिक गर्न माग गरेका छन् । साथै, जनावरबाट मानव तथा पशुचौपायामा थप जोखिम हुने अवस्था देखिएमा आवश्यक नियन्त्रण, उद्धार तथा सुरक्षा व्यवस्थापनका उपाय तत्काल अवलम्बन गर्नुपर्ने उनीहरूको माग छ । लगातार भइरहेका आक्रमणका घटनाले किसान तथा स्थानीय बासिन्दामा असुरक्षा र त्रासको वातावरण सिर्जना भएको छ। त्यसैले सम्बन्धित निकायले घटनाबारे तथ्यपरक जानकारी सार्वजनिक गर्दै आवश्यक कदम चाल्न स्थानीयवासीले आग्रह गरेका छन् ।

