रौतहट १८ साउन
वृन्दावन नगरपालिका–१ बलेरी क्षेत्रमा हरेक वर्ष वर्षायाम सुरु भएसँगै ५०औँ बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ। निरन्तरको जलजमावका कारण किसानहरूले लगाएको धान तथा अन्य बालीमा ठूलो क्षति पुग्दै आएको भन्दै स्थानीय किसानले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् । स्थानीयका अनुसार वर्षेनी एउटै समस्या दोहोरिँदा पनि दीर्घकालीन समाधानका लागि प्रभावकारी पहल हुन सकेको छैन। पानी निकासको उचित व्यवस्था नहुँदा खेतमा लामो समयसम्म पानी जम्ने, बाली नष्ट हुने तथा किसानले आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसले कृषि उत्पादनमा समेत प्रत्यक्ष असर पारिरहेको उनीहरूको भनाइ छ। किसानहरूले संघ, प्रदेश र स्थानीय सरकारमध्ये जुनसुकैले भए पनि जनताको पीडा बुझेर स्थायी रूपमा पक्की पानी निकास निर्माण गरिदिए वर्षौंदेखिको समस्या अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूले सम्बन्धित प्राविधिक निकायबाट आवश्यक अध्ययन गरी तत्काल दीर्घकालीन योजना कार्यान्वयन गर्न माग गरेका छन् । स्थानीयवासीले कृषि नै आफ्नो मुख्य जीविकोपार्जनको आधार भएकाले किसानको समस्यालाई प्राथमिकतामा राखी शीघ्र आवश्यक पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। समयमै उचित समाधान हुन सके यस क्षेत्रको कृषि उत्पादनमा वृद्धि हुनुका साथै किसानको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ।

