रौतहटमा आतंक मच्चाइरहेको सिकारी कुकुर वन कार्यालयको धरापमा

राैतहट २० साउन
रौतहट, पछिल्लो एक महिनादेखि रौतहटका विभिन्न गाउँमा पसेर बाख्रा तथा अन्य घरपालुवा जनावरमाथि आक्रमण गर्दै स्थानीयलाई त्रसित बनाइरहेको सिकारी कुकुर अन्ततः डिभिजन वन कार्यालय रौतहटको धरापमा परेको छ । वन कार्यालयले चितवनबाट आएको प्राविधिक टोलीसँगको समन्वयमा औरैया क्षेत्रमा विशेष ट्र्याप जडान गरेको थियो। सोही धरापमा परेको कुकुर नै हालसम्म विभिन्न बस्तीमा आतंक फैलाउँदै आएको सिकारी कुकुर भएको प्रारम्भिक निष्कर्ष निकालिएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोजकुमार ठाकुरले जानकारी दिए । वन कार्यालयका अनुसार उक्त कुकुर भारतको बिहार राज्यबाट नेपाल प्रवेश गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। गरुडा नगरपालिका, ईशनाथ नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका विभिन्न बस्तीमा रातको समयमा खोरमै पसेर बाख्रा तथा अन्य पशु चौपाया मार्ने घटना बढेपछि स्थानीयवासी भयभीत बनेका थिए ।घटनास्थलमा भेटिएका पदचिह्न, आक्रमणको शैली तथा प्राविधिक अध्ययनका आधारमा सिकारी कुकुरको खोजी तीव्र पारिएको थियो। त्यसपछि जडान गरिएको ट्र्यापमा कुकुर परेपछि स्थानीयले राहतको अनुभूति गरेका छन् । वन कार्यालयले कुकुरको व्यवहार, शारीरिक बनोट तथा अन्य प्राविधिक पक्षको थप अध्ययन भइरहेको जनाएको छ। साथै यस्ता घटना दोहोरिन नदिन सीमावर्ती क्षेत्रमा निगरानी अझ कडा बनाइने जनाएको छ ।

ताजा समाचार

Related Articles