रुपेन्द्र पटेल
रौतहट, १९ कार्तिक । रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणिप्रसाद जयसवालले छठ पर्वको अवसरमा गरिब, दलित, र विपन्न व्रतालुहरुको लागि विशेष समाग्री वितरण कार्यक्रम सञ्चालन गरेका छन् । नगरप्रमुख जयसवालले नगर क्षेत्रका ९ वटा वडाका करिब २ हजार परिवारलाई पूजामा आवश्यक पर्ने साडी सेट, दौरा, र सिपुली जस्ता सामग्री वितरण गर्दैछन् । यस कार्यक्रमले नगरपालिकाका विभिन्न आर्थिक रुपमा पिछडिएका समुदायका परिवारलाई छठ पर्व मनाउनमा सहजता र उत्साह प्रदान गरिरहेको छ ।
छठ पर्व मधेश प्रदेश तथा नेपालको अन्य क्षेत्रहरुमा महत्वपूर्ण मानिन्छ, जसमा सूर्य भगवानको उपासना गरिन्छ । यस पर्वको विशेष महत्त्वलाई मध्यनजर गर्दै नगरप्रमुख जयसवालले तीन दिनदेखि लगातार सामग्री वितरण गरिरहेका छन् ।
सोमबार मात्र गरुडा नगरपालिका वडा नं–९ विर्ता गम्हरियामा २ सय ५० जना गरिब, विपन्न, र दलित समुदायका परिवारहरूलाई छठ पुजाको मनाउन साडी सेट, दौरा र सिपुली जस्ता समाग्री वितरण गरिएको नगरप्रमुख जयसवालले बताए ।
नगर प्रमुख जयसवालका भने, हाम्रो समुदायमा आर्थिक रुपमा पिछडिएका परिवारलाई छठ पर्व मनाउन केही सहज बनाउने उद्देश्यले यो कार्य सुरु गरेका हौं । यस कार्यले उनीहरुलाई धार्मिक आस्थामा सामेल हुन प्रेरित गर्नेछ । उनले भने, एक हजार साडी सेट, दौरा, र सिपुली वितरण गरिसकेको र एक हजार अझ वितरण गर्ने बाँकी रहेको छ ।
जयसवालको यो कार्यले गरिब, दलित, र असहाय परिवारहरूमा नयाँ उमंग सिर्जना गरेको छ । यस छठ पुजा समाग्री वितरण कार्यक्रममा सामुदायिक सहभागिता र समर्थन प्राप्त भएको छ, जसले स्थानीय तहको जिम्मेवारी र जनताको मन जित्ने प्रयासलाई पुष्टि गरेको छ । नगरप्रमुखले निर्वाचित हुनुअघि पनि यस किसिमको सहयोग गर्दै आएका थिए । चुनाव जितेपछि उनको यो सामाजिक योगदान निरन्तर जारी छ ।
सोमबार भएको छठ पुजा समाग्री वितरण कार्यक्रममा नगरपालिकाका विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

