वृन्दावन,१६ कार्तिक । रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरीस्थित सिमसार पिकनिक पार्कलाई सफा राख्न र संरक्षण गर्नका लागि स्थानीय युवाहरूको पहलमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । लामो समयदेखि अलपत्र रहेको यो सिमसार क्षेत्रमा संरक्षणको अभाव हुँदा विभिन्न समस्याहरू देखिएका थिए। यसलाई सुधार्न बलेरी टोलका युवाहरूले सक्रिय भई पार्कभित्रको झारपात हटाउने र सफाईको अभियान चलाएका छन्।
स्थानीय युवा रुपेश पटेलका अनुसार, यो अभियान स्थानीय युवाहरूको संकल्पले प्रेरित छ। सफाई कार्यक्रममा बलेरीकै माध्यमिक विद्यालय, विश्रामपुरका प्रधानाध्यापक प्रेमलाल पटेल, डाक्टर रमेश पटेल, विनोदप्रसाद पटेल लगायत गाउँका धेरै युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यस पहलले अरू गाउँहरूमा पनि युवाहरूलाई प्रेरित गरेको छ। रमौली बैराटपुरका युवाहरूले पनि यसकै देखासिकी गर्दै आफ्ना सार्वजनिक ठाउँहरूमा सफाई र अन्य संरचना निर्माणमा सक्रियता देखाउन थालेका छन्। रुपेश पटेलका अनुसार, बलेरीका युवाहरूको नेतृत्वमा चलेको “आफ्नो गाउँ आफैं बनाउँ” अभियान निरन्तर रुपमा संचालन गरिँदैछ र यसले गाउँको विकासमा योगदान दिने उद्देश्य राखेको छ ।स्थानीय युवाहरूको सक्रियता र आत्मनिर्भरताको यो अभियानले अन्य ठाउँमा समेत सकारात्मक सन्देश पुर्याउने अपेक्षा गरिएको छ ।




