रौतहट, १४ कार्तिक । रौतहटको वृन्दावन नगरपालिकामा दीपावलीको पूर्वसन्ध्यामा नगर उज्यालो कार्यक्रम तीव्र गतिमा अघि बढिरहेको छ । नगरप्रमुख विनोदप्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलको सक्रियतामा नगरपालिका अन्तर्गतका हरेक वडामा बिजुलीको पोलमा बत्ती जडान गरी सम्पूर्ण नगरलाई उज्यालो बनाउन अभूतपूर्व कदम चालिएको हो । वृन्दावन नगरपालिकाको प्रमुख सार्वजनिक स्थानहरुमा पनि उज्यालो बनाउने प्रयास गरिएको छ । नगरप्रमुख कुर्मीका अनुसार वडा नम्बर ९, ८, ७, ६, १, र २ मा रहेका विभिन्न स्थानहरुमा टावर लाइट निर्माण गरिएको छ । नगपालिकाले टावर लाइट जडान गरेपछि नगरवासीहरूलाई सुरक्षा र सुविधा प्रदान गरेको स्थानीय बासिन्दा रबिन्द्र पटेलले बताए । सुरक्षाको दृष्टिकोणले वृन्दावन नगरपालिकाले विभिन्न नाकाहरूमा सिसिटिभी क्यामेरा जडान गरेको छ, जसले अपराधिक गतिविधिहरूलाई निगरानीमा राख्न र दोषी पहिचानमा सहयोग गर्नेछ । धमौरा चौक, हर्षाहा चौक र विश्रामपुर जाने बाटोमा पनि सिसिटिभि क्यामेरा जडान गरिएका छन् । सिसिटिभि क्यामारा जडानले नगरवासीहरूलाई थप सुरक्षाको अनुभूति दिने विश्वास नगर प्रमुख कुर्मीको रहेको छ ।
नगरपालिकाले शिक्षा क्षेत्रमा पनि प्रभावकारी पहल गर्दै आफ्ना ६ वटा माध्यमिक विद्यालयहरुमा सोलार टावर लाइट समेत जडान गरेको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले जनाए । वृन्दावन नगरपालिकाको यस कार्यले नगरलाई उज्यालो बनाउनुका साथै सुरक्षा र सामाजिक सेवामा पनि ठूलो योगदान पु¥याएको छ ।
त्यसैगरी, नगरपालिकाले आफ्नो सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै, २० वटा सामुदायिक विद्यालयमा शुद्ध र सफा खानेपानीको व्यवस्था समेत गरेको छ । करिब २७० देखि ३७० फिट जमिनमुनि पाइप गाडेर शुद्ध पानी परीक्षण गरिएका धारा निर्माण गरिएको छ । विद्यार्थीहरुको स्वास्थ्य प्रति ध्यान दिदैँ नगरप्रमुख विनोदप्रसाद कुर्मी पालिकाभित्र रहेका २० वटै सामुदायिक विद्यालयमा सो धारा जडान गरेको बताएका छन् ।