उपेन्द्र गोले तामाङ
रौतहट १४ कार्तिक
रौतहटको चन्द्रनिगाहपुरका एक प्रधानाध्यापकले भवन निर्माणको रकम हिनामिना गरेको रहस्य खुलेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ राजपैडामा रहेको श्री आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक किशोरी चौधरीले भवन निर्माणको रकम २० लाख निकासा गरी अपचलन गरेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सो रकम चौधरीले अपचलन गरेको पुष्टि भएपछि नगरपालिकाले रकम हिनामिना गर्ने प्रधानाध्यापक किशोरी चौधरीलाई कारबाहीको लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरलाई पत्राचार गरेको जनाएको छ । चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको किर्ते दस्तखत र चन्द्रपुर नगरपालिकाको छापको प्रयोग गरी नक्कली चलानी गरेको आरोपमा चन्द्रपुर नगरपालिकाले प्रधानाध्यापक किशोरी चौधरीलाई कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई पत्राचार गरेको हो । चौधरीले आधुनिक प्राथमिक विद्यालय चन्द्रपुर–५ राजपैडामा आर्थीक बर्ष ०८०–०८१ को विशेष अनुदानबाट चार कोठे भवन निर्माणको लागि विद्यालयको राष्ट्रिय वाणिज्य बैकको खातामा जम्मा रहेको ५० लाखबाट ०८० पौष १८ गते २० लाख निकालेर अपलचन गरेको खुल्न आएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको किर्ते दस्तखत नगरपालिकाको लेटरप्याड , छाप र नक्कली चलानी नम्बर राखेर सरकारी रकम दुरुपयोग गरेको आरोपमा चन्द्रपुर नगरपालिकाले कारबाहीको लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई पत्राचार गरेको जनाएको छ । निर्माण व्यवसायीलाई दुई पटक बिलको रकम भुक्तानी गर्दा कट्टा भएको मूल्य अभिवृद्धि कर आन्तरिक राजश्व कार्यालयमा जम्मा गर्नु पर्ने ३ लाख ३८ हजार ४ सय ७३ रुपैया समेत प्रधानाध्यापक चौधरीले अपचलन गरेको निर्माण व्यवसायी बिनोद कार्कीले बताउनुभएको छ । चन्द्रपुर नगरपालिकाले निर्माण व्यवसायीसँग चार कोठे भवन निर्माणका लागि ५३ लाख ९८ हजार २ सय ८९ रुपैया ५२ पैसामा सम्झौता गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकबाट रकम फुकुवा गर्न प्राध्यानाध्यापक चौधरीले प्रयोग गरेको चन्द्रपुर नगरपालिकाको पत्रको ११३१ चलानी नम्बरमा साधन प्रयोगको लागि साहिल ट्रेड एण्ड सप्लार्यस चन्द्रपुुर–४ रहेको पाइएपछि चौधरीले किर्ते गरेको खुल्न आएको हो । चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले किर्ते कागजपत्रको आधारमा रकम दुरुपयोग गरेको देखिएकाले अनुसन्धानका लागि प्रहरी लाई पत्राचार गरेको बताउनु भयो । चौधरीलाई नेपालको कानुन बमोजिम रकम असुलसहित दण्ड जरिवाना हुने नगरपालिकाले जनाएको छ ।