रुपेन्द्र पटेल
रौतहट, ९ कार्तिक । रौतहट प्रहरीले ७ किलोभन्दा बढी चाँदीको गहनासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको गौर नगरपालिका वडा नम्बर १ स्थित गौर भन्सार कार्यालय अगाडि खटिएको प्रहरी चेकजाँच टोलीले ठूलो परिणाममा चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला, बैरगनिया नगरपरिषद वडा नम्बर ८ असोगीका ६२ वर्षीय चन्देश्वर साह रहेको प्रहरीले जनाएको छ ।
भारतको बैरगनियाबाट गौरतर्फ आउँदै गरेको नम्बर बिआर, ३० एफ ३३३५ भएको मोटरसाइकलमा शंका लागेपछि चेकजाँच गर्दा, ट्याङ्की मुनि प्लास्टिकमा लुकाएर राखिएको चाँदीका पाउँजु लगायत विभिन्न प्रकारका गरगहना फेला परेको थियो ।
बरामद चाँदीको तौल ७ किलो १८७ ग्राम (सात किलो एक सय सतासी ग्राम) रहेको र यसको अनुमानित मूल्य नेपाली रुपैयाँ ७ लाख ७७ हजार ९२० रुपैया ८८ पैसा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको विज्ञाप्तीमा उल्ले छ । साथै, साहले प्रयोग गरेको मोटरसाइकलको अनुमानित मूल्य ५० हजार रुपैयाँ रहेको अनुमान गरिएको हो ।
कुल आठ लाख सताईस हजार नौं सय बिस रुपैयाँ बराबरको बरामद गरगहना र मोटरसाइकलसहित चन्देश्वर साहलाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

