गौर,८ असोज । पूर्व प्रधानमन्त्री एवं नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले पार्टी कार्यकर्तालाई ०८३/०८४ सालको निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्। नेकपा (एस) रौतहट जिल्ला संगठन समितिले गाैरमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनावमा अन्य पार्टीहरूसँग तालमेलको सम्भावना न्यून रहेकोले पार्टीले एकल रूपमा जित्ने गरी तयारी गर्न निर्देशन दिए।
नेता नेपालले कार्यकर्तालाई टोल, गाउँ, बस्तीमा पुगेर जनतासँगको सम्बन्ध मजबुत बनाउन आग्रह गरे। उनले गाउँका जनताको सुखदुःखमा सहभागी हुनुपर्ने, काठमाडौं र सदरमुकाममा मात्र सीमित नहुन निर्देशन दिए। नेतृत्वमा युवाहरूको खाँचो रहेको बताउँदै, आफू ७४ वर्षको उमेरमा पनि संगठनको जिम्मेवारीलाई अहोरात्र सम्हाल्न तयार रहेको बताए।
कार्यक्रममा पार्टी उपमहासचिव रामकुमार भट्टराई, केन्द्रीय सदस्य सरला यादव, मधेस प्रदेश सांसद कनिस पटेल, गाैर नगर प्रमुख शम्भु साह लगायतका नेताहरूले जिल्लाको अवस्थाबारे मन्तव्य व्यक्त गरे। कार्यक्रममा नेकपा (एमाले) परित्याग गरेका माधव नारायण कमिटी सचिव सुब्बा साहेब पासवानलाई अध्यक्ष नेपालले नेकपा (एस) पार्टीमा स्वागत गरे।
अध्यक्ष नेपालले बागमती र लाल बकैया नदीमा निर्माणाधीन पुल, चन्द्रनिगाहपुर फोर लेन सडक, र कृषि सिँचाइका लागि व्यवस्थापन कार्यहरूलाई अगाडि बढाइएको जानकारी पनि दिए। साथै, स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त रहन र इमानदारिपूर्वक काम गर्न सुझाव दिए।

