रुपेन्द्र पटेल
रौतहट, ११ असोज । बिहीबारदेखि लगातार परिरहेको झरीका कारण रौतहटका सर्वसाधारणको दैनिकीमा प्रभाव परेको छ । निरन्तर वर्षातका कारण हिँडडुल गर्न नसक्नु, सामान्य कामकाज ठप्प हुनु, र पशुधनको लागि चारा जुटाउन कठिनाई हुनु प्रमुख समस्या बनेका छन् । गाउँघरमा सर्वसाधारण झरीका कारण थप कठिन परिस्थितिमा परेको जनाइएको छ ।
सबैभन्दा बढी प्रभावित हुने श्रमिक वर्ग, विशेष गरी खेतमा काम गर्ने मजदुरहरु हुन् । मजदुरीका काम गर्दै आएको वृन्दावन–१ का स्थानीय पसिन्द्र पटेलले भने, यस्तै झरी रहिरह्योे भने हामी जस्तो काम गरेर खाने मजदुरहरु आर्थिक संकटको सामना गर्नुपर्छ । उनले भने, केहीबेर रोकेर पानी परेको भए केही फर्क पर्दैन्यौं, निरन्तर वर्षाका कारण समस्या उत्पन गरेको हो ।
यता स्थानीय व्यापारीहरूले पनि झरीका कारण व्यावसायिक गतिबिधिमा गिरावट आएको बताउँछन् । पसलमा ग्राहकको चहलपहल न्यून हुँदा दशैं जस्तो चाडपर्व नजिकिँदै गर्दा व्यापारमा अपेक्षित लाभ हासिल गर्न नसकेको चन्द्रपुर–४ का स्थानीय व्यापारी राजेन्द्र तिवारीको गुनासो छ ।
यता पशुपालक किसानहरू चारा र चरनको अभावमा थप समस्यामा छन् । वर्षाका कारण खेतहरू डुबानमा परेका छन्, जसले गर्दा गाई–भैंसीको लागि आवश्यक चारा जुटाउन कठिन भइरहेको छ ।
झरीले बालबालिका, वृद्धवृद्धा र बिरामीहरूको स्वास्थ्यमा पनि जोखिम थपेको छ । हिलो र पानीले भरिएका असुरक्षित सडकहरूले आवतजावतलाई जोखिमपूर्ण बनाएको छ, जसका कारण स्वास्थ्य समस्या निम्तिन सक्ने डर छ ।
मौसम विभागका अनुसार यो क्रम अझै दुई दिनसम्म जारी रहने सम्भावना छ । विभागले ३ दिनसम्म लगातार झरी पर्ने अनुमान गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

