राजपुर, ६ असोज । रौतहटको राजपुरमा हैजाको प्रकोप फैलिन थालेपछि स्थानीय स्वास्थ्य प्रणालीमा खलबली मच्चिएको छ ।
स्थिति गम्भीर देखिएपछि प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मुरारी ठाकुरको नेतृत्वमा विशेषज्ञहरूको एक टोली शनिवार आवश्यक औषधि र सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएको छ । टोलीमा अस्पतालका अध्यक्ष महमद अनवर हाशमी, इमर्जेन्सी इन्चार्ज डा.राजेश कुमार सिंह, डा.गोपाल गुप्ता लगायतका स्वास्थ्यकर्मीहरू सहभागी छन् ।
राजपुरको वडा ३ र ४ मा झाडा पखालाको तीव्र प्रकोप देखिएको छ, जसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ । स्वास्थ्य चौकी राजपुरमा पछिल्लो दुई दिनमा २२ जना बिरामी उपचारका लागि पुगेका थिए । तीमध्ये ७ जनाको दिशाको नमुना परीक्षणका लागि गौर पठाइएको थियो, जहाँ आरडिटी परीक्षणबाट ६ जनामा हैजाको किटाणु फेला परेको पुष्टि भएको छ । स्वास्थ्य संयोजक आलमका अनुसार, १८ जना बिरामी हाल अस्पतालमा उपचाररत छन्, जसमा १० जना महिला, ७ बालबालिका र एक पुरुष रहेका छन् । बाँकी ४ जना भने उपचारपछि घर फर्किसकेका छन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार, झाडा पखाला र हैजाको नियन्त्रणका लागि सावधानी अपनाउनु अत्यावश्यक छ । डा. मुरारी ठाकुरले प्रभावित क्षेत्रमा जनचेतना फैलाउँदै भने, “स्वास्थ्य रहन खाना खानुअघि र दिशा गरेपछि राम्ररी हात धुनुहोस् । तातो पानीको प्रयोग गर्नुहोस् र बासी, सडेगलेको वा खुला राखिएको खानेकुरा नखानुहोस् ।“ पेट बिगार्ने गरिष्ठ खाना खानबाट जोगिनु पर्ने उनले थपे ।
यद्यपि आरडिटी परीक्षण प्रारम्भिक रहेको र पूरै भरपर्दो नभएको बताउँदै, नमुनाहरूलाई थप पुष्टि परीक्षणका लागि जनकपुरधाम पठाइएको छ । यो स्वास्थ्य टोलीको चाँडो हस्तक्षेपले बिरामीको उपचारमा मद्दत पुर्याएको छ भने, स्थानीय बासिन्दालाई सरसफाइ र सावधानीको महत्त्व बुझाउन सफल भएको छ । हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूले जनचेतना र पूर्वतयारीलाई प्राथमिकतामा राख्दै काम गरिरहेका छन् । तराई पोष्ट साप्ताहिक पत्रिकाबाट सभार

