रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर, १ असोज । ग्रामीण विकास केन्द्र नेपाल (आरडीसी) रौतहटको आयोजनामा अक्सफाम नेपालको आर्थिक सहयोगमा सञ्चालित “नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा पैरवी परियोजना” अन्तर्गत चन्द्रनिगाहपुरमा जलवायु मैत्री कृषि सामग्री र उच्च गुणस्तरका तरकारी बीउ विजन वितरण कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रममार्फत चन्द्रपुर नगरपालिकाका विभिन्न वडाका किसानहरूलाई जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सहयोग पुर्याउने उद्देश्यले कृषि सामग्री र बीउ विजन वितरण गरिएको हो। ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसेनको अध्यक्षतामा चन्द्रपुर नगरपालिका वडा नं. १ देखि १० सम्मका ७० जना किसानलाई सामग्री वितरण गरिएको छ।
कार्यक्रममा, वडा नं. ४ का ९ जना किसानलाई वडा कार्यवाहक अध्यक्ष विनोद सिटौलाले सामग्री प्रदान गरे भने, वडा नं. ६ का ७ जना किसानलाई वडाअध्यक्ष सहदेव केसीको अध्यक्षतामा कृषि सामग्री र बीउ विजन वितरण गरिएको थियो। यस्तै, वडा नं. १० का ९ जना किसानलाई वडा २ बाट सन्जिव कुसवाहले ३ जना, वडा ७ का अध्यक्ष विष्णु प्रसाद उप्रेतीले ६ जना, र वडा ९ का अध्यक्ष नवराज देवकोटाले ४ जना किसानलाई सामग्री वितरण गरेका थिए।
आरडीसी नेपालका कार्यक्रम संयोजक चिरञ्जीवी महतोले जानकारी दिए अनुसार, जलवायु अनुकूलन कृषि प्रविधि अपनाई जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कृषि प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले यी सामग्री वितरण गरिएको हो। ग्रामीण विकास केन्द्र रौतहट नेपालकी ज्योति फुयालका अनुसार, यो कार्यक्रमले स्थानीय किसानलाई जलवायु परिवर्तनसँग अनुकूल हुने कृषि प्रणाली अपनाउन प्रेरित गर्ने विश्वास लिइएको छ।
सामग्री वितरणसँगै किसानहरूलाई जलवायु परिवर्तनको सामना गर्न सक्षम बनाउन यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

