चन्द्रनिगाहपुर, ३१ भदौं । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ मा रहेको स्वस्तीक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरको १२ औँ साधारण सभा सोमबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन चन्द्रपुर नगरपालिकाकी उप–प्रमुख जयमाला चौधरीले गरिन्। प्रमुख अतिथि चौधरीले सहकारी संस्थाहरूले बचतकर्ताको भावनालाई ध्यानमा राख्दै अगाडि बढ्नुपर्ने सुझाव दिएकी थिइन्। उनले बचतकर्ताको रकम कसरी सुरक्षित राख्ने र सहकारीले लगानी गरेको रकम सुरक्षित कसरी गर्ने भन्ने चुनौतीलाई मुख्य समस्या मानेकी थिइन्।
उप–प्रमुख चौधरीले हालको जोखिमपूर्ण अवस्थामा पनि भव्य रूपमा साधारण सभा आयोजना गर्न सकेकोमा खुसी व्यक्त गरिन्। कार्यक्रममा नब विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्र तिवारीले बचतकर्ताको रकम सुरक्षित राख्नु नै सहकारीको मुख्य धर्म भएको बताए।
यस्तै, चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त आचार्यले शेयरधनीहरू नै सहकारीको मुख्य पिलर भएको विचार व्यक्त गरे। सफल बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष देवकी नेपालले सहकारीको मर्म र धर्मअनुसार काम गरे सहकारी कहिल्यै डुब्दैन भन्ने धारणा राखिन्।
कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए। स्वस्तीक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेन्द्र रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ का उत्कृष्ट बचतकर्ता र ऋणीहरूलाई सम्मान गरिएको थियो।
अध्यक्ष रानाले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा हाल ४,४४३ जना शेयर सदस्य रहेको र ९ जनालाई ऋण प्रवाह गरिएको जानकारी दिए। कोषाध्यक्ष मुना सुवेदीले आगामी आर्थिक वर्ष २०८१/०८२ को योजना र बजेट प्रतिवेदन प्रस्तुत गरिन् भने लेखा सुपरिवेक्षण समितिकी संयोजक पुष्पलता चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्।
कार्यक्रमको संचालन संस्थाका कर्मचारी सीपी पौडेलले गरेका थिए।

