रौतहट, २९ भदौं । रौतहट क्षेत्र नम्बर २ का माननीय सांसद किरण साहले बकैया पुल निर्माण कार्यलाई सुचारु गराउने प्रयास भइरहेको जानकारी दिएका छन् । समाजिक सञ्जालमार्फत जनसमुदायलाई सम्बोधन गर्दै सांसद साहले जनताबाट आएका प्रश्नहरूको उत्तर दिन आफू कर्तव्यबद्ध भएको र अहिलेको परिस्थितिमा आफू सार्वजनिक वक्तव्य दिन बाध्य भएको बताएका छन् ।
उनले भनेका छन्, “मसमक्ष विभिन्न समाजिक सञ्जालमार्फत प्रश्नहरू खडा भएका छन् । यसकारण म यो जानकारी सार्वजनिक गर्दैछु, यद्यपि म यो समयमा सार्वजनिक गर्न इच्छुक थिएन । जनताको प्रश्नको उत्तर दिनु मेरो कर्तव्य हो ।“ सांसद साहले पुल निर्माणको काम सुरु गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् र जनतालाई भ्रममा नपर्न विशेष आग्रह गरेका छन् ।
उनले थप जानकारी दिँदै भनेका छन्, “विभिन्न मन्त्रालयहरू, विशेष गरी भौतिक पूर्वाधार मन्त्रालयबाट टिप्पणी आदेश आइसकेको छ, र यो प्रस्ताव अहिले अर्थ मन्त्रालयमा पनि पुगिसकेको छ । सम्भवतः असोज ७ गतेबाट बकैयापुल निर्माण कार्य प्रारम्भ हुनेछ ।“
सांसद साहले बकैयापुल निर्माण कार्यलाई प्राथमिकतामा राखेर त्यसको प्रक्रिया अघि बढाइरहेको बताएका छन्, र यस सम्बन्धमा स्थानीय जनसमुदायलाई धैर्यधारण गर्न पनि आग्रह गरेका छन् ।

