रौतहट, २८ भदौ । रौतहटको मौलापुर नगरपालिका–९ का वडाअध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको गम्भीर आरोप लागेपछि स्थानीयबासीले उनको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । मौलापुर–९ सोनरनियाका स्थानीयहरुले एक विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक–पटक यौन शोषण गरेको आरोप लगाउँदै शुक्रबार वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका हुन् ।
स्थानीयबासीले प्लेकार्ड र ब्यानरसहित सोनरनिया गाउँ परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए। केही दिनअघि गाउँकै दलित महिलाले वडाअध्यक्ष साहले आफूलाई विवाह गर्ने आश्वासन दिँदै विगत केही वर्षदेखि यौन शोषण गर्दै आएको र हाल विवाह गर्न अस्वीकार गर्दा आफू ठूलो समस्यामा परेको बताएकी थिइन् ।
महिलाको यो आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भएको छ। यो घटनाले व्यापक ध्यान तानेपछि मौलापुर नगरपालिकाले भदौ ७ गते उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई १५ दिन भित्रमा प्रतिवेदन तयार पार्न निर्देशन दिइएको थियो, तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरिएकोले स्थानीयबासी असन्तुष्ट छन् ।
वडाअध्यक्ष साहमाथि लागेका आरोपको निष्पक्ष छानबिन र दोषी ठहरिए कडा कारवाहीको माग गर्दै स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरूले छानबिन प्रतिवेदन सार्वजनिक नगरेसम्म र दोषीमाथि कारवाही नभएसम्म तालाबन्दी खुला नगर्ने चेतावनी दिएका छन् ।
यस घटनाले मौलापुर नगरपालिकाभरि नै जनआक्रोशको वातावरण सृर्जना गरेको छ । स्थानीय बासिन्दाहरूले भ्रष्टाचार र यौन शोषणविरुद्ध कडा कारवाहीको माग गरिरहेका छन् ।

