उपेन्द्र गाेले तामाङ
राैतहट २७ साउन
राैतहटकाे चन्द्रनिगाहपुरमा आइतबार बिहान माेटरसाइकल दुर्घटना हुदा एक प्रहरी जवानकाे मृत्यु भएकाे छ । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ६ स्थित तल्लो बजारमा आइतबार बिहान मोटरसाइकल दुघर्टना भएकाे थिये । साे दुर्घटनामा परी २६ वर्षीय प्रहरी जवान नवीन कुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यादव चन्द्रनिगाहपुरबाट सन्तपुर जाने क्रममा दुर्घटनामा परेका थिए । मधेश प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई तत्काल चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा उपचारका लागी भर्ना गरिएकाे थियो । यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बारामा कार्यरत यादव काम विशेषले रौतहट आएका बेला दुर्घटना परेका बताइएको छ । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रौतहट वृन्दावनका २५ वर्षिय नवीनकुमार चौधरीको भने सामान्य घाइते भएकाे बताइएकाे छ ।

