वृन्दावन, २७ साउन । वृन्दावन नगरपालिका वडा नं–१ की दुखियादेवी वृद्धभत्ता कार्डको नवीकरणको लागि सधैं वडा कार्यालय जान्छिन् । भदौको पहिलो हप्ताभित्र कार्ड नवीकरण नगरेमा चालु आर्थिक वर्षको वृद्धभत्ता नपाइने जानकारी पाएपछि उनी निरन्तर वडा कार्यालय गइरहेकी छिन् । तर, १८ दिनदेखि वडा कार्यालयमा ताला लागेका कारण उनले घर फर्कनु परेको छ ।
वडा कार्यालयमा तालाबन्दीका कारण जन्मदर्ता, मृत्यु दर्ता, सिफारिस, वृद्धभत्ता कार्ड नवीकरण, अपाङ्ग भत्ता कार्ड नवीकरण, र एकल महिला भत्ता कार्ड नवीकरणजस्ता सेवाहरू ठप्प भएका छन् । यसले सर्वसाधारणलाई समस्यामा पारिरहेको छ ।
वडा कार्यालयमा दैनिक रुपमा पुग्ने दुखियादेवी जस्ता वृद्धवृद्धाहरूलाई समयमै वृद्धभत्ता कार्ड नवीकरण गर्न नसक्दा चालु आर्थिक वर्षको भत्ता नपाउने चिन्ताले सताएको छ । कार्यालयमा तालाबन्दी भएपछि उनीहरू दिनहुँ कार्यालय धाएर पनि काम नहुनुको पीडामा छन् ।
तालाबन्दीको कारण गत वर्ष वृन्दावन वडा नं–१ र २ को सीमाना नजिक रहेको चाँदी खोला नजिक आयोजित दुर्गा पूजा मेलाको खर्च विवाद हो । मेला आयोजनाका क्रममा पाँच लाख रुपैयाँको वित्तीय विवादले वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।
वडा नं–१ का वडाध्यक्ष रामनाथ सहनी मार्फत् नगरप्रमुख विनोदप्रसाद कुर्मीले मेलाको मनोरञ्जनात्मक कार्यक्रमका लागि रकम सकार गरेको तर उक्त रकम पूर्ण रूपमा नदिएपछि मेला समितिले वडामा तालाबन्दी गरेको बताए । नगरप्रमुख कुर्मीले आधा रकम तिरे पनि बाँकी रकम समयमा नपाउँदा मेला समितिका सदस्यहरूले आर्थिक दबाबमा वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको मेला समितिका सचिव अमिन्द्र पटेलको भनाइ रहेको छ । तालाबन्दीको मारमा परेका वडा बासिन्दाहरूले दैनिक प्रशासनिक कामकाज नहुँदा समस्या झेल्नुपरेको छ ।
तालाबन्दीका कारण प्रभावित भएका सेवा सुविधाहरूमा वृद्धभत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, र सिफारिसका कामहरू प्रमुख छन् ।
वडाध्यक्ष सहनीले नगर प्रमुख कुर्मीलाई ताला खालाउन आग्रह गरेका बताए । तर, नगर प्रमुखले विनोद प्रसाद कुर्मीले वडाअध्यक्ष सहनीलाई मेला लगाउन दिएकोे १ लाख ५० हजार रुपैयाँ फिर्ता नगरेसम्म ताला नखोल्ने अडान लिएको वडाअध्य सहनीले आरोप लगाएका छन् । यसले समस्या समाधानमा अझै अन्योल उत्पन्न गरेको छ ।
मेला समितिका सचिव अमिन्द्र पटेलले मेलामा उपयोग गरिएको पण्डाल, डिजे साउन्ड लगायतका सामग्रीको उधारो रकम तिर्न नसक्दा ताला लगाउन बाध्य भएको बताए ।
सचिव पटेलका अनुसार, सामग्रीवालाहरूले घरमै आएर रकमको दबाब दिइरहेकाले उनीहरूलाई दिनुपर्ने रकम तिर्नका लागि वडा कार्यालयमा तालाबन्दी गरिएको बताए । यस विषयमा बुझन नगर प्रमुख विनोदप्रसाद कुर्मीलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन् सकेन ।
वडा कार्यालयको तालाबन्दीले सार्वजनिक सेवाहरू अवरुद्ध भई सर्वसाधारण नागरिकको दैनिक जीवनमा असर पर्न थालेको छ । यसले समस्या समाधानमा स्थानीय प्रशासनको तत्परताको अभावलाई उजागर गरेको छ । स्थानीय तहमा यस्ता आर्थिक विवाद र राजनीतिक द्वन्द्वले सामान्य जनताको सेवा सुविधामा बाधा पु¥याउनु गम्भीर विषय बनेको हो । २०८१ साउन २७ तराई पोष्ट पत्रिकामा प्रकाशित समाचार

