रुपेन्द्र पटेल
रौतहट, २५ साउन । अक्सफाम नेपालको आर्थिक सहयोग र ग्रामीण विकास केन्द्र नेपालको आयोजनामा सञ्चालित “नेपालमा जलवायु परिवर्तन अनुकुलन तथा पैरवी परियोजना“ अन्तर्गत सामुदायिक वन दिवस मनाइएको छ । “सामुदायिक वनको प्रभावकारिताः तिनै तहको सरकार र समुदायको सहभागिता“ भन्ने मूल नाराका साथ शुक्रवार, चन्द्रपुर–२ असनवाहमा रहेको सखुवानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरि उक्त दिवस सम्पन्न गरिएको हो ।
कार्यक्रम अन्तर्गत ५४० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्, जसमा अमला, बकाइनो, बेल, अम्बा, तित्री, महगनी, टिक लगायतका बिरुवाहरू समावेश छन् । वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रसहित अन्य कर्मचारी, सशस्त्र प्रहरीका डिएसपी, इलाका प्रहरीका डिएसपी राजकुमार राई, फोकोफोन रौतहटका अध्यक्ष वेदहरी दाहाल, जिल्ला महासचिव प्रेमा तिमल्सिना, चन्द्रपुर नगरपालिका वन वातावरण विपद् शाखाका फोकलपर्सन अजिता पौडेल, रोयल नेपालका प्रतिनिधि लगायत विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, लायन्स क्लबका पदाधिकारी, समतरगी नेपाका पदाधिकारी, अक्सफाम नेपालका विवेक कार्की, आरडिसी नेपालका चिरञ्जीवी महतोसहित ३०० जनाको उपस्थिति रहेको थियो ।
आरडिसी नेपालकी ज्योति फुयालले कार्यक्रमबारे जानकारी दिँदै जलवायु परिवर्तन न्यूनिकरणका लागि बिरुवा रोपण महत्त्वपूर्ण रहेको बताइन् । उनले यस प्रयासले स्थानीय पर्यावरणीय सन्तुलन कायम राख्न र वायुमण्डलमा अक्सिजनको सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् । साथै, यस प्रकारका परियोजनाले जलवायु परिवर्तनको असरबाट बच्न र अनुकुलन गर्न मद्दत पु¥याउने विश्वास गरिएको छ ।
कार्यक्रमले समुदायलाई वृक्षारोपणमा सक्रिय सहभागिता गराउन प्रेरित गर्दै वातावरण संरक्षणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । यसले सामुदायिक वनहरूको प्रभावकारिता बढाउने र स्थानीय वातावरणीय सन्तुलनलाई दीर्घकालसम्म कायम राख्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।


