राजु तामाङ,
हरिवन २१ साउन
सर्लाही एम्बिसन एकेडेमीका विद्यार्थीले मानवसेवा आश्रम अवलोकन गरेका छन । हरिवन नगरपालिका १० नयाँ रोडमा रहेको सो विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीले आफ्नो परियोजना कार्य (प्रोजेक्ट वर्क) अन्तर्गत सोमबार हरिवन १ कैलाशपुरीमा रहेको मानवसेवा आश्रममा पुगेर अध्ययन अवलोकन गरेका हुन । विद्यार्थीको अवलोकन कार्यमा आश्रमका व्यवस्थापक विवेक महतोले मानव सेवा आश्रम भनेको के हो ? यसको महत्त्व र विशेषताको विषयमा प्रष्ट्याएका थिए । ससाना विद्यार्थी भाइबहिनीहरुलाई फुर्सदको समयमा भौतिकरुपमा उपस्थित भै मानवीय सेवा गर्न सकिन्छ भनेर प्रत्यक्ष रुपमा विद्यार्थीलाई बुझाएको विद्यालयले जनाएको छ । विद्यार्थीले अवलोकनका साथै आश्रममा आश्रित वृद्धवृद्धा बा-आमालाई आफुहरुले खाँदै आएको खाजालाई कटौती गरी नगद ७ हजार ५० रुपैयाँ समेत सहयोग गरेको विद्यालयका संस्थापक/प्रधानाध्यापक सुरेश पाख्रिनले जानकारी गराए ।हाम्रो चाहना – सबैको लागि खाना, नाना र छाना स्वास्थ्य र शिक्षा हाम्रो प्रतिबद्दता – सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा भन्ने उद्देश्य सहित यस मानवसेवा आश्रमको सर्लाही शाखाले सेवा दिइदै आइरहेको छ ।

