सर्लाही,११ माघ । सर्लाहीको उत्तरी क्षेत्रमा सयौँ बिघामा लगाएको गोलभेडाको बोट डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। केही दिनदेखि चलेको शीतलहरका कारण डढुवा रोगको प्रकोपले गोलभेडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।
जिल्लाको हरिवन, अत्रौली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर पत्थरकोट, रानीगञ्ज, घारीबथान लगायतको स्थानमा व्यावसायिक गोलभेडा खेती हुने गर्छ। बिहान र बेलुकाको समयमा कठ्यांग्रिदो चिसो र वर्षाझैं परेको शीत (तुषारो) ले गोलभेडा कुहिन थालेको छ।
‘ठण्डीले सबै बिरुवा डढुवा रोगले मर्दै छ, गोलभेडा कुहिन थालेको छ। ढुसी नाशक बिषादी छरे पनि रोग नियन्त्रण भएको छैन’, हरिवन नगरपालिका–३ डाबरीका ज्ञानबहादुर पुलामीले निरास हुँदै भने। उनका अनुसार यो क्षेत्रमा गोलभेडा खेती गर्ने सबै किसानले यस्तै समस्या भोगिरहेका छन्।

