मधेशमा मन्त्री व्यवस्थापन गर्न थपिएको खेलकुद मन्त्रालय काम विहीन

जनकपुर,१९ पुस । मधेश प्रदेशमा विनाविभागीयमन्त्रीलाई व्यवस्थापन गर्न चार महिनाअघि तत्कालीन शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर थप गरिएको खेलकुद तथा समाज कल्याण मन्त्रालय कामविहीन बनेको छ । मन्त्री, सचिव र अन्य कर्मचारी दैनिक मन्त्रालय पुगे पनि बजेट अभावमा कुनै काम गर्न सकेका छैनन् । यतिसम्म कि मन्त्री चढ्ने गाडीको इन्धनदेखि मन्त्रालयको दैनिक चियापानी खर्च पनि उधारोमा चलिरहेको छ । 
मुख्यमन्त्री सरोजकुमार यादवले विनाविभागीयमन्त्री सुरिता साहलाई व्यवस्थापन गर्न सातौँपटक सरकार विस्तारका क्रममा तत्कालीन शिक्षा तथा समाज कल्याण मन्त्रालय टुक्र्याएर शिक्षा तथा संस्कृति र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएका थिए । सत्तारुढ गठबन्धन दलको भागबन्डामा शिक्षा मन्त्रालय जनमत पार्टीको भागमा परेको थियो । तर, झन्डै दुई महिना विनाविभागीयमन्त्री रहेकी जसपाकी साहलाई मुख्यमन्त्री यादवले व्यवस्थापन गर्न जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले सम्हालेको शिक्षा मन्त्रालय टुक्र्याएका थिए । 
मन्त्रालय टुक्र्याएलगत्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुवै मन्त्रालयको कार्य विभाजन पनि पठायो । तर, मन्त्रालय टुक्र्याएको झन्डै चार महिना हुन लाग्दा पनि अहिलेसम्म मन्त्रालयको खातासमेत खुल्न सकेको छैन । न दरबन्दीअनुसार कर्मचारी नै छन् । खेलकुद मन्त्रालयका सचिव चूडामणि फुँयालका अनुसार कार्पेट, कुर्सी, टेबुल, फर्निचर, पर्दालगायत व्यवस्थापन पनि उधारोमा गरिएको छ । मन्त्रालयको आफ्नै खाता सञ्चालन नभएको र बजेट चलाउने पिएलएमबिएस कोड पनि अर्थ मन्त्रालय र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट उपलब्ध हुन नसकेको उनले बताए । 
लागि पहिलो चरणमा २ करोड रुपैयाँ विनियोजन गरे पनि आर्थिक कारोबार गर्ने कोड उपलब्ध नगराउँदा ती रकम पनि निकासा हुन नसकेको खेलकुदमन्त्री साहले बताइन् । ‘तत्कालीन शिक्षा तथा समाज कल्याण मन्त्रालय टुक्र्याएर दुई नयाँ मन्त्रालय बनाइयो । यस्तो अवस्थामा आर्थिक कारोबार गर्न मन्त्रालयलाई नयाँ कोड चाहिन्छ,’ खेलकुदमन्त्री साहले भनिन्, ‘हामीले नयाँ कोड पाएका छैनौँ । तर, शिक्षा तथा सांस्कृतिक मन्त्रालयले भने नयाँ कोड नलिई तत्कालीन मन्त्रालय शिक्षा तथा समाज कल्याण मन्त्रालयको कोडले काम गरेर आर्थिक सुशासनको खिल्ली उडाइरहेको छ ।’ 
शिक्षा तथा संस्कृतिमन्त्री यादव भने खेलकुद मन्त्रालयले प्रक्रिया पूरा गरेर शाखा आफूमातहत लान सक्ने बताए । ‘टिप्पणी उठाएर सम्बन्धित मन्त्रालयबाट पत्र आउनुपर्‍यो नि, हाम्रो यो–यो कुरा छ पठाइदिनुपर्‍यो भनेर । तर, अहिलेसम्म आएको छैन,’ मन्त्री यादवले भने । 
मन्त्रालय विभाजन हुँदा कुन–कुन शाखा कता रहने भनेर मुख्यमन्त्रीले अहिलेसम्म निर्णय नदिएको उनको दाबी छ । ‘मैले नेतृत्व गरेको मन्त्रालय टुक्र्याएको भनेर आफूलाई अहिलेसम्म आधिकारिक जानकारी अएको छैन । मन्त्रालय टुक्र्याउने विषयमा अहिलेसम्म प्रदेशको मन्त्रिपरिषद्मा कुनै छलफल वा निर्णय भएको छैन । मुख्यमन्त्रीजीले नै जबर्जस्ती मन्त्रालय टुक्र्याउने निर्णय गर्नुभयो ।’
दुई मन्त्रालयबीच अधिकार क्षेत्रको विवाद हुनुको मुख्य कारण मन्त्रीका दलहरू जसपा र जनमतबीचको द्वन्द्व रहेको कर्मचारीहरूको भनाइ छ । राजनीतिक द्वन्द्वले नै यस्तो परिस्थिति आएकाले यसको समाधान मुख्यमन्त्रीले नै गर्नुपर्ने उनीहरू बताउँछन् । 
गत वर्ष मंसिरको प्रदेश सभा निर्वाचनमा स्वतन्त्र हैसियतमा जितेर जसपा प्रवेश गरेकी सुरितालाई मुख्यमन्त्री सरोज यादवले सामाजिक विकासमन्त्री बनाएका थिए ।  त्यसपछि कांग्रेसलाई सरकारमा सामेल गराउँदा मन्त्री साह विनाविभागीय बनेकी नयाँ पत्रीकामा समाचार छ 

ताजा समाचार

Related Articles