जातीय विभेदविरुद्ध एकजुट भएर अगाडि बढ्ने दलित अगुवाको निर्णय

रौतहट, ७ मंसिर । जिल्लास्थित विभिन्न राजनैनिक दल निकट दलित भ्रातृ संगठनका दलित अगुवा तथा नेताहरूको बैठकले वृन्दावन नगरपालिका कार्यपालिका सदस्य राजेश पासवानसँग छठघाटमा भएको विभेदविरुद्ध एकजुट भएर अगाडि बढ्ने निर्णय गरेका छन् ।

बुधबार बसेको दलित अगुवाहरूको बैठकले मुद्दा प्रक्रियालगायत संघर्षका बारेमा छलफल गरेका थिए । जिल्लाको पिपरियास्थित छठघाटको पन्डालमा प्रवेश गरेको निहुँमा नेपाल दलित मुक्ति संगठन मधेश प्रदेश कमिटी सदस्य तथा वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका पासवानमाथि अभद्र व्यवहार, जातीय छुवाछूत तथा भेदभाव गरिएको घटना बाहिर आएको थियो ।

उक्त घटनामा श्री सानूकिम्ताङ माध्यमिक विद्यालय, म्याङ गाउँपालिका ४ किम्ताङ नुवाकोटमा कार्यरत प्रधानाध्यापक भरतप्रसाद यादव तथा अधिकृत शंकर ठाकुर, प्रेम यादव, गोपी महतोलगायत करिब पचासौं जनाका जमातमा रहेका व्यक्तिहरुले दलित भनेर अपशब्द प्रयोग गर्दै उनीमाथि अभद्र व्यवहार गरेका थिए । एउटा विद्यालयका प्रधानाध्यापक तथा नेपाल सरकारका अधिकृत जस्तो पदमा रहेका व्यक्तिहरुबाट भएको सो घटनाको चौतर्फी विरोध भइरहेको छ ।

दलितका विभिन्न संगठनहरूले सो घटनाको जति विरोध तथा निन्दा गरेपनि कम हुने भन्दै घटनाको घोर भर्त्सना गरेका छन् । नेपालको संविधान तथा जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन २०६८ तथा विद्यमान ऐन कानूनको विरुद्ध कार्यपालिका सदस्यमाथि जातीय विभेद गर्ने प्रधानाध्यापक यादव तथा अधिकृत ठाकुरलगायतका व्यक्तिहरुमाथि कानूनअनुसार कारबाही गर्नसमेत उनीहरुले माग गरेका छन् । सो अवसरमा जिल्लाका विभिन्न पार्टीमा आवद्ध दलित नेता तथा अगुवाहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles