रौतहट, १७ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख रामचन्द्र चौधरी सहित चार जनाविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिता गरेको भन्दै आरोप पत्र दायर भएको छ ।
चन्द्रपुर नगरपालिकाका पुर्व नगरप्रमुख रामचन्द्र चौधरी ,तत्कालिन प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल र तत्कालिन लेखा शाखा प्रमुख कृती सुवेदी विरुद्ध बिषेश अदालतमा आर्थिक अनियमिता गरेको भन्दै आरोप पत्र दर्ता भएको हो ।
आयोगले पुर्बाधार उपयोग कर चाँदी खोला, चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री–राजपैडादेखि नयाँ बस्ती मोतिपुरसम्म, चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री मरधर ठेक्कामा अनियमितता गरेको भन्दै आयोगले बिहीबार बिषेश अदालतमा मुद्दा गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाँदी खोलाको पूर्वाधार उपयोग कर सङ्कलनको लागि लगाइएको ठेक्का नं. १५–०७७/०७८ मा अनियमितताको आरोपमा चन्द्रपुर नगरपालिकाका तत्कालिन नगर प्रमख चौधरी, तत्कालिन प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल, लेखा अधिकृत तथा राजस्व शाखा प्रमुख किर्तिराज सुवेदी र आंशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरै विरुद्ध २८ लाख २५ हजार पाँच रुपैयाँ रकम चुहावटको आरोप छ ।
यस्तै बितेको आर्थिक वर्ष २०७७÷०७८ मा ठेक्का नं. १८–०७७/०७८, चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री–राजपैडादेखि नयाँ बस्ती मोतिपुरसम्मको ठेक्कामा आंशिक कन्स्ट्रक्सन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी १५ लाख ६८ हजार रुपैयाँ बराबरको कम राजस्व रकम असुल गरेको आरोप पनि लागेको आयोगले जनाएको छ ।
यसैगरी ठेक्का नं. १९–०७७/०७८ मा भएको सम्झौता बमोजिमको तोकिएको नगद तथा बैंक जमानत पेश नगरी नलिइ मूल्य अभिवृद्वि करसमेत दाखिला नगरी १७ लाख ६८ हजार रुपैयाँ र प्रावधान विपरीत नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरी ३७ लाख ३४ हजार १९८ रुपैयाँ गरी जम्मा ५५ लाख दुई हजार १९८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आयोगले बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।
चन्द्रपुरका तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीलाई समेत ३७ लाख ३४ हजार १९८ रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ । उनीहरुविरुद्व भ्रष्टाचारनिवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगको पत्रमा उल्लेख रहेको छ ।