प्रिन्सिपलको हत्यारा खोजेर कडा कारबाही गर्न नेशनल प्याब्सनको माग

बारा । नेशनल प्याब्सन केन्द्रीय कार्यसमितिले बाराको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश सर्राफलाई गोली हानी हत्या गर्नेलाई पक्राउ गरी कडा सजाय दिन माग गरेको छ।

नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमालले सामाजिक सञ्जालबाट घटनाको सत्य तथ्य छानबिन गरी अपराधीलाई कडा सजायको माग गरेको हो।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अत्यन्तै दुस्खद तथा अकल्पनीय बारा जिल्ला कलैया नगरपालिकास्थित हाम्रो संगठन नेशनल प्याब्सनको सदस्य विद्यालय बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल, बारा जिल्ला नेशनल प्याब्सनका उपाध्यक्ष सुमोध सर्राफका सहोदर भाइ रूपेश सर्राफमाथि आज करिब १ बजे विद्यालयकै सडकनजिक दुई मोटरसाइकलमा सवार आपराधिक व्यक्तिहरूद्वारा कायरतापूर्ण गोली प्रहार गरी भएको क्रूर हत्याको भर्त्सना गर्दछौं, सत्य(तथ्य छानबिन गरी त्यस्ता अपराधीहरूलाई कडाभन्दा कडा सजायको माग गर्दै नेपाल सरकार, सुरक्षा प्रशासन र प्रहरी वृतमा ठूलो चुनौतीसमेत देखिएको हुँदा अविलम्ब खोजी होस् भनी नेशनल प्याब्सन केन्द्रीय समिति पुनः जोडदार अपिल गर्दछ।’

सोमबार मोटरसाइकलमा आएका व्यक्तिको गोली लागेर सर्राफको मृत्यु भएको छ। उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको प्रहरीले जनाएको छ। गोली लागेका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

ताजा समाचार

Related Articles