राैतहट २७ जेष्ठ
सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी विभेदकारी, स्वेच्छाचारी तथा प्रेस स्वतन्त्रतामाथि असर पार्ने निर्णय खारेजीको माग गर्दै नेपाल पत्रकार महासंघ को आह्वानमा बुधबार जिल्ला प्रशासन कार्यालय रौतहटमा धर्ना कार्यक्रम सम्पन्न भएको छ। बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन गरिएको उक्त धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागी पत्रकारहरूले सरकारी निकायबाट सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेदकारी प्रवृत्ति प्रेस स्वतन्त्रता र संविधानद्वारा प्रत्याभूत नागरिकको सूचनाको हकमाथिको हस्तक्षेप भएको बताएका थिए ।
धर्ना कार्यक्रममार्फत पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारमाध्यमप्रति गरिने विभेदपूर्ण व्यवहार तत्काल अन्त्य गर्न, सूचना तथा विज्ञापन वितरण प्रक्रियालाई पारदर्शी, समानुपातिक र न्यायोचित बनाउन तथा सञ्चार क्षेत्रको संवैधानिक अधिकारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि नीति तथा निर्णय स्वीकार्य नहुने बताएका थिए। उनीहरूले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता, सूचनाको हक तथा नागरिकको सुसूचित हुने अधिकारको संरक्षणका लागि आवश्यक परे थप संघर्षका कार्यक्रमहरू अघि बढाइने चेतावनीसमेत दिएका छन् ।
धर्ना कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको महासंघले जनाएको छ। पत्रकारहरूको यस आन्दोलनले सञ्चार क्षेत्रको हकहित, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा महत्वपूर्ण सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

