भगवानको नाममा भ्रष्टाचार ? पौराई ब्रम्हस्थानको कैलाश पर्वत निर्माण विवादमा

रौतहट २८ बैशाष
रौतहटको चन्द्रपुर नगरपालिका–२ पौराईस्थित धार्मिक आस्थाको केन्द्र पौराई ब्रम्हस्थान अहिले आर्थिक विवादको केन्द्र बनेको छ । मधेश प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको “कैलाश पर्वत” संरचनामा लाखौं रुपैयाँ अनियमितता भएको आरोप स्थानीयवासीले लगाएका छन् । मधेश प्रदेश सरकारले ५० लाख रकम विनियोजन गरेकोमा गुम्बा र कैलाश पर्वत निर्माणमा २५/२५ लाख रकम विभाजन गरि गुम्बाको कम्पाउण्ड वाल निर्माण गरेको र पौराई ब्रह्मस्थानमा कैलाश पर्वत निर्माण गरेको मन्दिर निर्माण सुधार संघको भनाई रहेको छ । तर निर्माण कार्यमा अत्यन्त कम खर्च गरिएको दाबी गर्दै बाँकी रकमको हिसाब सार्वजनिक गर्न माग गरिएको छ । केही स्थानीयले त ३० लाख रुपैयाँसम्म बजेट आएको दाबी गरेका छन् । स्थानीयवासीको आरोप अनुसार निर्माण गरिएको कैलाश पर्वत हेर्दा लागत निकै कम देखिने भएकाले बजेट दुरुपयोग भएको आशंका बढेको हो । उनीहरूका अनुसार १० देखि १२ लाख रुपैयाँको मात्रै काम भएको देखिन्छ । तर आरोपलाई मन्दिर पक्षले अस्वीकार गरेको छ । स्थानीय मोहन प्रसाईँले प्रदेश सरकारले २५ लाख रुपैयाँ मात्रै विनियोजन गरेको र निर्माणमा कुनै आर्थिक अनियमितता नभएको बताएका छन् । त्यसैगरी मन्दिर संरक्षण समितिका सदस्य लक्ष्मण न्यौपानेले पनि संरचना निर्माण पारदर्शी ढंगले सम्पन्न भएको दाबी गरेका छन् । उनका अनुसार निर्माणमा सीमित सामग्री प्रयोग भए पनि काम आवश्यक मापदण्ड अनुसार गरिएको बताउनु भयो ।
कैलाश पर्वत निर्माणमा आफुले एक रुपिया अनियमितता नगरेको पौराई मन्दिरलाई नमुना र रौतहट कै पर्यटकीय स्थलको रुपमा विकास गर्न खोज्दा ब्यक्तिगत रिसइवीका कारण विभिन्न आरोप लगाइएको कैलाश पर्वत निर्माण समितिका अध्यक्ष राम थापाले तराई पोष्टलाई प्रतिक्रिया दिनु भयो । पर्वत निर्माणको क्रममा फाउण्डेसन गहिरो र बलियो दिर्घकालिन गुणस्तरीय बनाउदा धेरै खर्च भएको बाहिरी संरचना हेर्दा खर्च कम लागे जस्तो स्थानियले देखेकाले आफुमाथी आरोप लागेको थापाको भनाई रहेको छ । विविध कारणले २५ लाख रकम विनियोजन भएको भएतापनि २० लाख ७५ हजार रकम मात्रै निकासी भएको समेत अध्यक्ष थापाले बताउनु भयो ।

यद्यपि अधिकांश स्थानीय भने सन्तुष्ट देखिएका छैनन् । सार्वजनिक रूपमा खर्च विवरण नआएको भन्दै उनीहरूले निर्माण प्रक्रियामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । धार्मिक आस्था जोडिएको स्थानमै आर्थिक विवाद उत्पन्न भएपछि अहिले पौराई क्षेत्रको माहोल तातेको छ । स्थानीयवासीले सम्बन्धित निकायले तत्काल छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

ताजा समाचार

Related Articles