राैतहट २४ बैशाष
राैतहटकाे फतुवा विजयपुरमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दै आएका स्थानीयवासीले बिहीबार विभिन्न नारासहित बिराेध प्रदर्शन गरेका छन । बिराेध प्रदर्शनकाे क्रममा फतुवा विजयपुरबजार परिक्रमा गर्दै नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका थिए । लामो समयदेखि बसोबास गर्दै आएका गरिब तथा विपन्न परिवारलाई हटाउने प्रयास भएको भन्दै उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् ।
प्रदर्शनकारीहरूले नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनलाई ज्ञापनपत्र बुझाउँदै आफूहरूको बसोबासको अधिकार सुनिश्चित गर्न माग गरेका थिए । ज्ञापनपत्र बुझ्दै नगर प्रमुखका श्रीमान मोहम्मद सेराजले कानुनी दायराभित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न राजनीतिक दलका नेताहरूले सुकुम्बासीमाथि अन्याय हुन नहुने बताएका छन् । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रदीप पटेल, लालबाबु पटेल तथा पूर्व उपमेयर कान्ती महतो लगायतले दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई कुनै पनि बहानामा विस्थापित गर्न नहुने धारणा राखेका थिए ।
वक्ताहरूले चुनावमा जनताले दिएको मतको सम्मान गर्न सरकारलाई आग्रह गर्दै जनभावना विपरीत निर्णय गरिए त्यसको राजनीतिक परिणाम गम्भीर हुन सक्ने चेतावनीसमेत दिएका थिए । उनीहरूले भूमिहीन र सुकुम्बासीको समस्या समाधान संवाद र व्यवस्थापनबाट गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय प्रदर्शनपछि फतुवा विजयपुर क्षेत्रमा सुकुम्बासी बस्ती व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ ।आन्दोलनकारीहरूले आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

