रौतहट, २ कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटलेराजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ ।
सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा ट्राफिक प्रहरीले राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको हो । पूर्व पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने लामा तथा छोटा दुरीका सवारी साधनहरुलाई चन्द्रनिगाहपुरमा एकैछिन रोकेर उनीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्यकर्मीहरुले चालकहरुको रक्तचाल, मुटुको चाल , ज्वरो परिक्षण गर्नुको साथै उनीहरुको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेर केही औषधीहरु निःशुल्क वितरण गरेका थिए ।
स्वास्थ्य परिक्षणको क्रममा चालकहरुमा उच्च तथा न्यूण रक्तचाप, रुघाखोकी, छाति तथा पेटको समस्या , अनिन्द्रा , टाउको दुःखाइ, थकाइ लगायतका समस्याहरु बढि देखिएको सिभिल अस्पतालका संचालक राजन साहले बताए ।
आफुहरुले सवारी चलाउने क्रममा अस्पतालमा गएर लाइन बस्न नभ्याउने हुँदा यसरी सडकमै स्वास्थ्य परिक्षण गर्न पाएकोमा चालकहरु पनि खुसी भएका छन् । उनीहरुले यस्ता कार्यक्रमहरु चाडवाड लक्षित गरेर मात्र नभइ अन्य बेलापनि गरिनुपर्ने भन्दै चालकहरुले यस्तो कार्यले निरन्तरमा पाए आफुहरुलाई पनि सहुलियत हुने ट्रक चालक दिपक चालिसेको भनाइ रहेको छ ।
दशैंमा राजधानी छाड्नेहरुको संख्या उच्च हुँदा अन्य दिनहरुका काठमाडौं एकपटक ओहोरदोहोर गर्ने यात्रुबहाक सवारीसाधनहरु यो बेला दुइदेखि तीन पटकसम्म पनि ओहोरदोहोेर गर्ने गरेका छन् । बिना आराम लगातार सवारी चलाउँदा थकाइ र खराब स्वास्थ्यको कारण हुनसक्ने दुर्घटना जोखिम न्यूणीकरण गर्न यो कार्यक्रमले मद्धत गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षण सुशिल आचार्यले बताए । छठसम्म सञ्चालन हुने यो कार्यक्रमको पहिलो दिन बुधबार १४५ जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको उनले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सवारी चेकजाँच मात्र नभएर समुदाय स्तरमै ट्राफिक सचेतनाको लागि विभिन्न कृयाकलापहरु गरिरहेको जनाउँदै उनले ट्राफिक नियम सबैको लागि भएकाले यसको इमानदारितापूर्वक पालना गर्न सबैमा आग्रह पनि गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० मा रौतहट जिल्लामा ६४२ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु, २५३ जना गम्भिर घाइते र ७८६ जना सामान्य घाइते भएका थिए । यो आर्थिक वर्षको पहिलो ३ महिनामा मात्र १५२ सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु, ६० जना गम्भिर घाइते र १६८ जना सामान्य घाइते भएका छन् । स्वास्थ्य परिक्षण सँगसँगै चालकहरु तथा यात्रुहरुलाई ट्राफिक सचेतनामूलक पर्चा पम्प्लेटहरु पनि बाँडिएको थियो ।