रौतहट १६ बैशाष
जिल्ला प्रहरी कार्यालय रौतहटले ध्वनि प्रदूषण फैलाउँदै ट्राफिक नियम उल्लङ्घन गर्ने तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । विशेष गरी स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने गरी सञ्चालन गरिएका मोटरसाइकलहरूलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, गौर पठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार प्रहरीको गस्ती टोलीले गौर नगरपालिका क्षेत्रका विभिन्न चोक, बजार तथा हाट क्षेत्रबाट ती मोटरसाइकलहरू नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलहरूमा साइलेंसर, भाइजर, सिट, लेगार्ड लगायतका पार्टपुर्जा परिवर्तन गरी चर्को आवाज निकाल्ने बनाइएको थियो । यस प्रकारका सवारी साधनले ध्वनि प्रदूषण बढाउनुका साथै सडकमा हिँड्ने सर्वसाधारणलाई असुविधा पुर्याएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा परेका मोटरसाइकलमध्ये भारतीय नम्बर प्लेटका बीआर–०६ डीजे–९९३५ नम्बरको यामाहा, बीआर–०६ डीसी–८३९८ नम्बरको एमटी–१५ र ना ४१ प ४८७३ नम्बरको एफजेड रहेका छन् । प्रहरीले यस्ता किसिमका नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि निगरानीलाई अझ कडा बनाउने जनाएको छ । साथै सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न र सवारी साधनमा अनावश्यक परिवर्तन नगर्न आग्रह गरेको छ ।

