रौतहट,१ असार । वृन्दावन नगरपालिकाभित्र दर्ता भएका सहकारी संस्थाहरू कानुनी रूपमा बुझाउनुपर्ने प्रतिवेदन र विवरणमा गम्भीर रूपमा उदासीन देखिएका छन्। महालेखा परीक्षकको प्रतिवेदनले सहकारीहरूको नियमन र अनुगमनमा नगरपालिकाको कमजोरीसमेत औंल्याएको छ।
सहकारी ऐन, २०७४ को दफा ७३ अनुसार सहकारी संस्थाले मासिक, चौमासिक तथा वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ। यस्तै सहकारी नियमावली, २०७५ तथा सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७८ अनुसार प्रत्येक महिना ७ गतेभित्र एकीकृत सूचना व्यवस्थापन प्रणाली (COPOMIS) मा विवरण अद्यावधिक गर्नुपर्ने कानुनी प्रावधान छ।
तर, गत जेठमा सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले वृन्दावन नगरपालिकाभित्र सञ्चालित अधिकांश सहकारीले कानुनले तोकेका विवरण नियमित रूपमा पेश नगरेको देखाएको छ।
नगरपालिकाको तथ्यांकअनुसार पालिकाभित्र हाल २२ वटा सहकारी संस्था दर्ता छन्। तीमध्ये १७ वटा कृषि सहकारी र ५ वटा उपभोक्ता सहकारी रहेका छन्। बचत तथा ऋण तथा बहुउद्देश्यीय सहकारी भने कुनै पनि छैनन्। सबै २२ वटा सहकारीले COPOMIS मा आफ्नो विवरण अद्यावधिक गरेको देखिए पनि अन्य कानुनी दायित्व पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ।
महालेखाको प्रतिवेदनअनुसार पालिकाभित्रका सहकारीहरूले समष्टिगत प्रतिवेदन बुझाएका छैनन्। मासिक प्रगति विवरण पेश नगरेको, साधारण सभा सम्पन्न भएको जानकारी नगरपालिकालाई नदिएको तथा साधारण सभाको प्रतिवेदनसमेत पेश नगरेको पाइएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा २२ वटै सहकारीको अनुगमन गरेको दाबी गरे पनि ती संस्थाहरूको वास्तविक सञ्चालन अवस्था, वित्तीय गतिविधि तथा संस्थागत अवस्थाबारे अद्यावधिक अभिलेख नराखिएको प्रतिवेदनले देखाएको छ।
नियामक निकायको भूमिकामा रहेको पालिकाले सहकारीहरूको अवस्था नियमित रूपमा अभिलेखीकरण गर्न नसक्दा सहकारी क्षेत्रको पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठेको छ। प्रतिवेदनले कानुन तथा सूचना प्रणालीअनुसार आवश्यक विवरण नबुझाउने सहकारी संस्थामाथि प्रभावकारी अनुगमन गरी आवश्यक कारबाही गर्न नगरपालिकालाई सुझाव दिएको छ।
सहकारी क्षेत्रलाई स्थानीय आर्थिक विकासको आधार मानिने गरिए पनि वृन्दावनमा भने नियमनको फितलो अवस्थाले सहकारीहरू कानुनको दायराभन्दा बाहिर सञ्चालन भइरहेका हुन् कि भन्ने आशंका बढाएको छ। महालेखाको प्रतिवेदनले अब नगरपालिकाले कडाइका साथ अनुगमन र कारबाही प्रक्रिया अघि बढाउनुपर्ने संकेत गरेको छ।
माथिको तस्वीर एआइबाट निर्माण गरिएको छ ।


