रौतहटमा हराउँदै परम्परागत भकारी संस्कृति, आधुनिक भण्डारणले लियो स्थान

रौतहट १२ चैत्र
कहिल्यै किसानहरूको पहिचान र दैनिकीसँग जोडिएको परम्परागत धान भण्डारण गर्ने ‘भकारी’ अहिले रौतहटमा विस्तारै लोप हुँदै गएको छ । केही वर्षअघिसम्म प्रायः सबै किसानहरूले बाँस बाट बनाइने भकारीमा धान सुरक्षित राख्ने चलन व्यापक थियो । तर आधुनिक भण्डारण प्रणालीको प्रयोग बढेसँगै यो परम्परा ओझेलमा परेको छ । विशेषगरी रौतहटको उत्तरी क्षेत्र, चन्द्रपुर नगरपालिकाभरि पहिले जताततै देखिने भकारी अहिले दुर्लभजस्तै बनेको छ । पहिले हरेक घरमा अनिवार्यजस्तै हुने भकारी अहिले देख्नै मुस्किल भएको स्थानीयहरू बताउँछन् ।


हाल भकारीको प्रयोग रौतहटका केही भित्री गाउँहरूमा मात्र सीमित भएको पाइन्छ । बृन्दावन नगरपालिका–७, सखुवा धमौरामा भने अझै केही किसानहरूले परम्परागत बासका भकारी प्रयोग गरिरहेको अवस्था छ । स्थानीय बास तथा अन्य सामग्रीबाट बनाइने भकारी वातावरणमैत्री मात्र नभई किफायती र दीर्घकालीन प्रयोगयोग्य मानिन्थ्यो । तर पछिल्लो समय प्लास्टिकका ड्रम, धातुका भाँडा तथा अन्य आधुनिक भण्डारण सामग्रीको प्रयोग बढ्दै जाँदा भकारीप्रति आकर्षण घट्दै गएको छ । विज्ञहरूका अनुसार आधुनिकताको नाममा स्थानीय उत्पादन र सीपलाई बेवास्ता गर्दा परम्परागत ज्ञान र सीपसमेत हराउने जोखिम बढेको छ । यदि स्थानीय सामग्रीबाट बन्ने यस्ता घरेलु उत्पादनलाई प्राथमिकता दिइयो भने ग्रामीण स्तरमै रोजगारी सिर्जना हुनुका साथै कृषि क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने उनीहरूको भनाइ छ । यसैबीच, परम्परागत भकारीको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय तह तथा सरोकारवाला निकायले पहल गर्नुपर्ने आवाज उठ्न थालेको छ । किसानहरू भन्छन्—“परम्परा जोगाउने हो भने आधुनिकता र स्थानीयपनबीच सन्तुलन आवश्यक छ ।”

ताजा समाचार

Related Articles