रौतहट १३ साउन
रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित जनशक्ति माध्यमिक विद्यालय, गैडाटारमा बुधबार सम्पन्न अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका चार सदस्य सर्वसम्मत रूपमा चयन गरेको छ । भेलाले कुसुम वाइबा, हरी बिक्रम खड्का, तारा देवी कुमर तथा इन्द्रबहादुर फ्याललाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेको हो । विद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गठित समितिले गुणस्तरीय शिक्षा, अनुशासन, पारदर्शी व्यवस्थापन र अभिभावक–विद्यालयबीचको सहकार्यलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अभिभावक भेलामा सहभागीहरूले नवनिर्वाचित सदस्यहरूलाई बधाई दिँदै विद्यालयको समग्र विकास, शैक्षिक सुधार तथा विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा जिम्मेवारीपूर्वक नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
स्थानीय समुदायले पनि नयाँ व्यवस्थापन समितिको सक्रिय पहलबाट जनशक्ति माध्यमिक विद्यालयलाई अझ उत्कृष्ट, प्रतिस्पर्धी र नमुना शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

