सर्लाही ११ चैत्र
सर्लाही जिल्लाका नेपाल–भारत सीमावर्ती क्षेत्रहरूमा अवैध तस्करी गतिविधि पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको पाइएको छ। जिल्लाका संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी र अर्नाहा लगायतका नाकाहरू हुँदै दैनिक रूपमा ठूलो परिमाणमा सामान ओसारपसार भइरहेको स्थानीय स्रोतहरूले बताएका छन् । सीमावर्ती बासिन्दाका अनुसार तस्करहरूले विशेष गरी राति र बिहानको समयमा चोर बाटो प्रयोग गरी सामान वारपार गर्ने गरेका छन्। यसरी हुने अवैध कारोबारबाट दैनिक लाखौं रुपैयाँ बराबरको सामान नेपाल–भारतबीच आवतजावत हुने गरेको अनुमान गरिएको छ । यसैबीच, भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सर्लाहीसँग जोडिएको हनुमाननगर नाकामा ठुलो परिमाणमा तस्करी सामान नियन्त्रणमा लिएको छ। एसएसबीको ५१औँ बटालियनले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा ३ हजार ५१५ केजी चाइनिज स्याउसहित दुई वटा महिन्द्रा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएका स्याउ र सवारीसाधनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जानकारी दिएको छ । सीमाक्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच थप समन्वय आवश्यक रहेको स्थानीयको भनाइ छ ।

