रुपेन्द्र पटेल
रौतहट, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी भएको छ ।
निर्वाचन अधिकृत उद्धव दोढडीका अनुसार पौडेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनालाई २१ हजार ११ मतान्तरले पराजित भएको हो ।
क्षेत्र नम्बर ४ मा खसेको कुल ७३ हजार ३९७ मतमध्ये पौडेलले ३६ हजार ८७६ मत प्राप्त भएको छ। उनका प्रतिद्वन्द्वी कांग्रेसका तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गरेका हुन् ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गरेको छ भने नेकपा एमालेका उम्मेदवार रामजी साह सोनारले ३ हजार ४७८ मत ल्याएका छ्न ।
यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमारले १ हजार ६२ मत प्राप्त गरेका छन् । आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले ६५५ मत पाउदा उज्यालो नेपालका उम्मेदवार तुलसी राजगिरीले ४११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यससँगै रौतहटका चार निर्वाचन क्षेत्रमध्ये रास्वपाले दुइ क्षेत्रमा जित दर्ता गरेको छ ।

