रामकुमार भट्टाराइको वृन्दावन वडा नं–१, २ र ३ मा घरदैलो कार्यक्रम सम्पन्न

रौतहट, १४ फागुन । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टाराइले वृन्दावन नगरपालिका वडा नं–१, २ र ३ मा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । पाँचकुने तारा चुनाव चिन्हबाट रौतहट जिल्ला क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनावी मैदानमा उत्रिएका भट्टाराइले बिहीबार मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको हो ।

घरदैलो कार्यक्रम वृन्दावन नगरपालिका–२ धनगढीबाट सुरु भई बैराठपुर, विश्रामपुर, रमौली हुँदै बलेरीमा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दाले विभिन्न विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका विषयमा आफ्ना धारणा र गुनासा राखेका थिए ।

उम्मेदवार भट्टाराइले जनताको सुझावलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेट्दै क्षेत्रको समग्र विकास, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विगतमा ओझेलमा परेका गाउँ–टोललाई विकासको मूलधारमा ल्याउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । चुनाव नजिकिँदै जाँदा क्षेत्र नं–४ मा उम्मेदवारहरूको घरदैलो र जनसम्पर्क कार्यक्रम तीव्र बन्दै गएको छ ।

ताजा समाचार

Related Articles